अन्तर्वार्ता : म पोखरेली जनताको साझा उम्मेदवार हुँ : श्रीनाथ बराल


कार्तिक ३०, कास्की । कास्की- २ मा एकीकृत समाजवादीका उम्मेदवार हुन्, श्रीनाथ बराल। पार्टीको पोलिटब्युराे सदस्यसमेत रहेका बराल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। उनले २०६४ को पहिलो संविधान सभा निर्वाचनमा कास्की २ बाट एमालेका रवीन्द्र अधिकारीलाई विजयी गराउन भूमिका खेलेका थिए। दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि रवीन्द्र जिताउन उसैगरी श्रीनाथ नै लागिपरे। यहाँ एमालेकी विद्या भट्टराई उनकी प्रतिस्पर्धी हुन्। उनै श्रीनाथसँग गरेको कुराकानी :

चुनावको मिति नजिकिँदै गएको छ, ढुक्ढुकी कत्तिको बढेको छ ?
ढुकढुकी कत्ति पनि बढेको छैन। कास्कीमा हामीले नै बनाएको मजबुद्ध संगठन र पाँच दलीय गठबन्धनका कारण म जितको नजिक छु। राम्रो भएको छ। जति चुनाव नजिकिँदै छ, हामी त्यही उत्साहित छौँ।

सधैँ एमाले उम्मेदवार जिताउन लागि परेको तपाईं यसपटक आफै उम्मेदवार हुनुहुन्छ ? टिकट पाउनलाई पार्टी नै परिवर्तन गर्नु पर्‍याे है ?
होइन । एउटा परिस्थितिले त्यस्तो हुन पुग्यो। एमालेमा छँदा मलाई अन्याय भएको थियो। तर, अहिले काम गरेर देखाउने बेला आएको छ। अहिले सबै दलका नेता कार्यकर्ताहरूको साथ समर्थन मलाई छ। एमालेजनहरूले पनि मलाई नै माया गर्नुहुन्छ। सबैको मतले बहुमत ल्याउँछु।

घरदैलोका क्रममा मतदाताहरू के भन्छन् त ?
उनीहरूकाे भनाइबाट एकदमै उत्साही छु। सबैले माया गर्नुभएको छ। हामीसँग विश्वास खोजिरहनु भएको छ, जसको म सम्मान गर्छु।

यसपालिको मत परिणाम पनि स्थानीय चुनावको जस्तै आउँछ भन्ने लागेको छ ?
पक्कै पनि। कास्कीमा हाम्रो संगठन मजबुत छ। पार्टी र पाँच दलीय गठबन्धन नै कास्कीमा सशक्त भएकाले यसपालिको मत परिणाम पनि स्थानीय चुनावको जस्तै आउँछ भन्ने लागेको छ।

तपाईंको चुनाव जित्ने मुख्य आधार के के हुन् ?
मुख्य आधार भनेको त सत्ता गठबन्धन नै हो। दोस्रो हाम्रा एजेण्डाप्रति पोखरेलीहरू खुसी छन्। अर्को आधार भनेको यहाँका दाजुभाइ तथा दिदीबहिनीहरूको अपार माया हो। जुन मायालाई मैले वर्षौंवर्षसम्म सम्झेर मेरो क्षेत्रमा मात्रै नभई समग्र कास्की र देशकै भलो हुने काम गर्नेछु। मैले विगतमा अझ भनौँ ४० वर्षसम्म यो क्षेत्रमा गरेकाे योगदानको कदर गर्दै उहाँहरुले कलममा मतदान गर्नुहुन्छ भन्ने मेरो पूर्ण विश्वास छ।

महंगी न्युनीकरण गर्ने विषयमा यहाँका योजना के के छन् ?
महंगी नियन्त्रण र समृद्धि मेरो एजेण्डा हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?