निर्वाचनको समाचार संकलनका लागि सहज वातावरण बनाउन पत्रकार महासंघको माग


मंसीर २, काठमाडौँ । नेपाल पत्रकार महासंघले निर्वाचनमा समाचार संकलन र मतगणना अपडेटका लागि सहज वातावरण बनाउन निर्वाचन आयोग र सरकारसँग माग गरेको छ।

शुक्रबार एक विज्ञप्तिमार्फत निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई सहज ढंगबाट चल्न दिन समेत महासंघले आग्रह गरेको छ।

महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको दिन आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्बाध, सुरक्षित र सहजढंगबाट समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न तथा मतदान लगत्तै हुने मतगणनाको सहज र सरल तरिकाले समाचार संकलन गर्ने वातावरण बनाउन महासंघ निर्वाचन आयोग र सरकारसँग माग गर्दछ।’

यस्तै निर्वाचनको क्रममा सबै खाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन समेत महासंघ सरकारसँग आग्रह गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?