ग्यास विस्फोटमा ४ बालबालिकासहित ९ जनाको मृत्यु
मंसिर ४, एजेन्सी । रुसको दक्षिणपूर्वी सखालिन टापुको पाँच तले आवासीय भवनमा भएको ग्यास विस्फोटमा नौ जनाको मृत्यु भएको स्थानीय गभर्नरले बताएका छन्।
टिमोभस्कोए गाउँमा सन् १९८० को दशकमा बनेको इट्टाको भवनमा विस्फोट भएको तास समाचार एजेन्सीले जनाएको छ। मृत्यु हुनेमा चार जना बालबालिका छन्।
ग्यास विस्फोटमा चार बालबालिका सहित नौ जनाको मृत्यु भएको छ’ क्षेत्रका गभर्नर भ्यालेरी लिमारेन्कोले रोसिया २४ टेलिभिजन च्यानललाई भने। आपतकालीन मन्त्रालयले प्रारम्भिक जानकारीमा ग्यास लिक भएको औंल्याएको छ। विस्फोटमा भवनका अधिकांश तला भत्किएको प्राप्त विवरणहरुमा जनाइएको छ।
घटनास्थलमा दर्जनौँ उद्दारकर्मी परिचालन गरिएको आपत्कालीन मन्त्रालयले जनाएको छ।