बाजुरामा मतपेटिकामा आगजनी
मंसिर ४, काठमाडौँ । बाजुरामा मतपेटिकामा आगजनी गरिएको छ। स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको (क)केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको हो।
आज भइरहेको प्रदेश सभा समानुपातिक तर्फको मतदानका क्रममा मतपेटिकामा आगजनी गरेपछि केहीबेर मतदान रोकिएको थियो। आगो लागेपछि पानी हालेर निभाइएको थियो। मतपेटिकामा सामान्य क्षति भएको र मतपत्रमा भने क्षति नभएको बताइएको छ।
सो बुथमा निर्वाचन अधिकृतले मुचुल्का बनाएर पुनः मतदान अघि बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अघिकारीले बताए।