भारतद्वारा न्युजिल्याण्ड ६५ रनले पराजित
मंसिर ५, एजेन्सी। घरेलु टोली न्युजिल्यान्डलाई भारतले पहिलो टी २० खेलमा ६५ रनले पराजित गरेको छ। जितसँगै भारतले तीन खेलको शृंखलामा १ ० को अग्रता बनाएको छ। एक सय ९२ रनको लक्ष्य पाएर प्रत्युत्तरमा ब्याटिङ गर्न आएको न्युजिल्यान्ड १८.५ ओभरमा सवै विकेट गमाउँदै एक सय २६ रनमा समेटियो।
न्युजिल्यान्डका कप्तान केन विलियम्सनले सर्वाधिक ६१ रन बनाए। डेभोन कोन्वेले २५, ग्लेन फिलिप्सले १२ तथा ड्रयाल मिचेलले १० रन जोडेका थिए। भारतका दीपक होडाले सर्वाधिक ४ विकेट लिए। मोहमद सिराज र युजभेन्द्र चाहलले समान दुई विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९१ रन बनाएको थियो। भारतका लागि सूर्यकुमार यादवले अविजित एक सय ११ रनको शतकीय इनिङ्स खेले । यसैगरी इशान किशनले ३६ रन जोडे। न्युजिल्यान्डका टिम साउथीले सर्वाधिक तीन विकेट लिएका थिए।