ललितपुर क्षेत्र नं १ : मतगणना जारी
मंसिर ५, काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नं १ को मतगणना जारी रहेको छ।
बज्रबाराहीस्थित गोदावरी नगरपालिकाको कार्यालय भवनमा दुई स्थानमा मतगणना भइरहेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए। गोदावरी नगरपालिका–२ अन्तर्गत विशङ्खुनारायण क्षेत्रको एक हजार दुई सय ८३ मत गणना हुँदा नेकपा (एमाले)को छ सय ६२, नेपाली कांग्रेसको चार सय दुई, राष्ट्रिय स्वतन्त्र पार्टीको ९३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ५१ तथा अन्यमा १० र बदर मत ६५ रहेको निर्वाचन कार्यालयले जनाएको छ। मतगणनाको अन्तिम परिणाम भोलि रातिसम्म सार्वजनिक हुने बताइएको छ।
ललितपुर १ मा जम्मा ७४ हजार तीन सय ३९७ मतदाता रहेकोमा ५० हजार सात सय ४५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सो क्षेत्रमा कांग्रेसका उदयशम्शेर राणा, एमालेका नवराज सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जिव आचार्यसहित २१ प्रतिस्पर्धीमा छन्।