बिक्रीका लागि राखियो सिंगै गाउँ, कति पर्ला मूल्य ?


मंसिर ६, एजेन्सी। सामान्यतया क्रेता र विक्रेताबीच कुनै घरजग्गा खरिदबिक्री हुन्छ। कसैले आफ्नो घर बेचेर अर्कोे घर किन्छन्। तर, स्पेनमा भने एउटा सिंगो गाउँ नै बिक्रीमा राखिएको छ, जसलाई जोकोहीले किन्न सक्छन्। उत्तर–पश्चिमी स्पेनको साल्टो डे क्यास्ट्रो गाउँ बिक्रीमा राखिएको हो। सिंगो गाउँको मूल्य २ लाख ६० हजार युरो तोकिएको छ।

स्पेनको राजधानी म्याड्रिडबाट गाडीमा चढ्दा तीन घण्टाको दूरीमा रहेको उक्त गाउँमा ४४ घर, होटल, चर्च, विद्यालय, महानगरीय स्वीमिङ पुललगायतका सुविधा छन्।

तर, त्यहाँ कोही पनि वासिन्दा छैनन्। साल्टो डे क्यास्ट्रोमा ३२ वर्षदेखि सुनसान प्रायः छ। साल्टो डे कास्ट्रोलाई विद्युत् उत्पादन कम्पनी इबर्डिउरोले सन् १९५० को दशकमा जलाशय निर्माण गर्ने कामदारहरूको परिवारको लागि निर्माण गरेको थियो। तर, गाउँ निर्माण सम्पन्न भएपछि बासिन्दा त्यहाँबाट हिँडे र गाउँ सन् १९८० को दशकमा खाली भएको थियो।

सुरुमा सन् २००० मालिकले गाउँलाई पर्यटकीय क्षेत्रको रूपमा रूपान्तरण गर्ने उद्देश्यले किनेका थिए। तर, उनको योजना सफल भएन। ‘यहाँ होटल बनाउने मालिकको चाहना थियो’, मालिकको प्रतिनिधित्व गर्ने कम्पनी रोयल इन्भेस्टका रोनी रोड्रिग्जले भने।

विक्रीका लागि सूचीबद्ध भएपछि ५० हजार भन्दा बढीले रुची देखाएका छन्। रुस, फ्रान्स, बेल्जियम र बेलायतबाट सोधपुछसँगै ३ सय जनाले खरिद गर्न चासो देखाएका हुन्। एक जनाले त गाउँ किन्न केही रकम बुझाएको प्राप्त विवरणमा जनाइएइको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?