पूर्व र बहालवाला मुख्यमन्त्रीहरू को कहाँ के गर्दैछन् ?
मंसिर ७, काठमाडाैँ। प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सकिएको छ। धमाधम प्रदेश र प्रतिनिधि सभातर्फका उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक भइरहेका छन्। यसैबीच देश संघीयतामा गए पश्चात भएको पहिलो निर्वाचनमा यसअघिका सात वटै प्रदेशका मुख्यमन्त्रीहरु कहाँ के गर्दैछन् भन्ने आम जनचासोको विषय बनेको छ।
नेपालमा गत पाँच वर्षमा सात वटै प्रदेशमा पूर्व र बहालवाला गरी कूल १४ जना मुख्यमन्त्रीले शासन गरे। यहाँ ती १४ जना मुख्यमन्त्रीहरू को कहाँ के गर्दै गर्दैछन् भन्नेबारे खोतल्ने प्रयास गरिएको छ।
गत पाँच वर्षमा प्रदेशको नाम नै जुराउन नसके पनि प्रदेश १ ले तीन जना मुख्यमन्त्री पायो। प्रदेश १ का दुई पूर्व र एक बहालवाला गरी तीनै जना निर्वाचनमा सहभागी बनेका छन्। प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राई यतिबेला नेकपा एमालेका तर्फबाट भोजपुरबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन्।
पूर्वमुख्यमन्त्री राई वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीसँग प्रतिष्पर्धा गरिरहेका छन्। हाल सो क्षेत्रमा मतगणना चलिरहँदा पूर्वमुख्यमन्त्री राईले किराँतीलाई पछ्याइरहेका छन्।
यस्तै प्रदेश १ का अर्का पूर्वमुख्यमन्त्री भीम आचार्य सुनसरी–२ मा नेकपा एमालेका तर्फबाट चुनाव लडिरहेका छन्। जारी मतगणनामा पूर्वमूख्यमन्त्री आचार्यले तेस्रो स्थानमा छन्। यस्तै प्रदेश १ का बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रदेश सभा सदस्य पदका उम्मेदवार छन्। उनी भोजपुर प्रदेश सभा १ बाट चुनाव लडिरहेका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री भने गत पाँच वर्षमा फेरिएनन्। मधेश का मुख्यमन्त्री लालबाबू राउतले लगातार पाँच वर्ष सत्ता सम्हाले। मुख्यमन्त्री राउत यतिबेला पर्सा क्षेत्र नम्बर १ ख बाट चुनाव लडिरहेका छन्।
यता बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले चुनाव नलड्ने घोषणा गरेर घरमै आराम गरिहरेका छन्। युवा पुस्तालाई अवसर दिनुपर्ने भन्दै पौडेलले चुनाव नलड्ने घोषणा गरेका हुन्। नेकपा एमालेका नेता समेत रहेका पूर्व मुख्यमन्त्री पौडेलको नेकपा एमालेको राजनीतिमा भने सक्रियता कायम छ।
यस्तै नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी बागमती प्रदेशकी दोस्रो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले समेत निर्वाचन नलड्ने घोषणा गरेकी छन्। हाल पार्टी राजनीतिमै उनी सक्रिय रहेको देखिन्छ। अष्टलक्ष्मीलाई पार्टीले प्रतिनिधि सभा सदस्य पदको टिकट दिए पनि उनले आफूले निर्वाचन नलड्ने भन्दै अस्वीकार गरिन्। बागमतीका बहालवाला मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यतिबेला नेकपा एकीकृत समाजवादीका तर्फबाट धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा पदका उम्मेदवार छन्।
उता गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका छन्। कृष्णचन्द्र नेपाली पोखरेलको उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेल भने यस पटक निर्वाचनमा सहभागी छैनन्।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल आम निर्वाचन २०७९ मा दाङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन्। लुम्बिनीका बहालवाला मुख्यमन्त्री कुलप्रसाद केसी भने यस पटकको आम निर्वाचनमा उम्मेदवार छैनन्। उनी मुख्यमन्त्री पद सम्हालिरहेका छन्।
यस्तै कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्र बहादुर शाही यतिबेला कालिकोटबाट नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका छन्। कर्णाली प्रदेशका बहालवाला मुख्यमन्त्री कालीबहादुर शाही नेपाली कांग्रेसको तर्फबाट हुम्ला प्रदेश सभा २ मा उम्मेदवार छन्।
यस्तै पाँच वर्ष पूर्ण कार्यकाल मुख्यमन्त्री पदमै रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट भने यस पटक कतै लागेका छैनन्। मुख्यमन्त्रीका रूपमा सक्रिय रहेका भट्टले यस पटक निर्वाचनमा टिकट पाएनन्। नेकपा माओवादी केन्द्रका नेता समेत रहेका भट्ट नयाँ प्रदेश सरकार गठनपछि सम्भवतः पार्टी राजनीतिमै सक्रिय हुने आँकलन गरिएको छ।
सात वटै प्रदेशको मुख्यमन्त्री पद सम्हालेका अधिकांश नेताहरु प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार रहे पनि हालसम्म कसैको पनि अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छैन।