खोटाङ : प्रतिनिधिसभामा पासाङ, प्रदेश (क)मा पिके र (ख)मा भूपेन्द्रको अग्रता


मंसिर ७, खोटाङ। खोटाङमा प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धन (नेकपा माओवादी केन्द्र)का उम्मेदवार रामकुमार राई (पासाङ)ले चुनावी परिणाममा आफ्नो अग्रता कायम राखेका छन्। पछिल्लो मत परिणाम अनुसार राई एमालेका बिशाल भट्टराईभन्दा ८२४ मतले अघि छन्। राईले १२ हजार १२५ मत पाउँदा भट्टराईले ११ हजार ३०१ मत पाएका छन्।

प्रतिनिधिसभातर्फ हालसम्म हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाको २५ हजार ९१० मत गणना सकिएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अहिले खोटेहाङ गाउँपालिकाको मत गणना भइरहेको छ।

प्रतिनिधिसभातर्फ ६७ हजार ३७३ मत खसेको थियो। निर्वाचन परिणाम अनुसार जसपाका कृष्णकुमार राईले ६९९ मत, राप्रपाका सर्जु श्रेष्ठले २८२ मत, स्वतन्त्रका जयन्द्रकुमार राईले १३५ मत, मंगोल नेशनल अर्गनाइजेसनका दिपक मगरले ८९ मत, आमुल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले ४५ मत र नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले ४८ मत पाएका छन्।

प्रदेशसभा (क)मा एमालेका पाँचकर्ण राई (पिके) एक हजार ९५ मतले अघि छन्। पिकेले १० हजार ५१३ मत पाउँदा गठबन्धन (नेकपा एस)का बीलवलकाजी राईले ९ हजार ४१८ मत पाएका छन्। प्रदेशसभा (क)मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ वडा मात्र गणना बाँकी छ। हालसम्म २६ हजार ७९२ मत गणना सकिँदा स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले २ हजार १८२ मत, जसपाका राकेश राईले १ हजार ९६२, नेकपा (माले)का पदमप्रसाद आचार्यले १ हजार २२१ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईले ११५ मत, नेमकिपाका केशव राईले ६० मत र स्वतन्त्रका कुमारप्रसाद भट्टराईले १० मत पाएका छन।

प्रदेशसभा (ख)मा गठबन्धन (कांग्रेस)का उम्मेदवार भूपेन्द्र राई एमालेका रामप्रसाद दंगालभन्दा १ हजार १७६ मतले अघि छन्। भूपेन्द्रले १३ हजार ७५५ र रामप्रसादले १२ हजार ५७९ मत पाएका छन्। प्रदेशसभा (ख)मा बराहपोखरी गाउँपालिकाको मत मात्र गन्न बाँकी छ। हालसम्म २८ हजार ६१९ मत गणना सकिँदा जसपाका प्रेमकुमार राईले ८३९ मत, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले २८६ मत, मंगोल नेशनल अर्गनाइजेसनका बिमला राईले ९८ मत र नेमकिपाका ध्यानप्रसाद ढकालले ९८ मत पाएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?