कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’


मंसिर ८, कैलाली। कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित विजयी भएकी छन्। भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन्।

श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी भएकी हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन्। नेकपा एमालेका तपेन्द्र रावल भने पाँच हजार ९१० मत पाए।

प्रदेश सभातर्फको १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा १ मा कैलाश चौधरी विजयी भएका हुन्। कैलाश चौधरीले १५ हजार १०१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन्।

यस्तै, प्रदेश सभातर्फको २ मा लक्ष्मण किशोर चौधरी विजयी भएका छन्। लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन्। उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावललाई तीन हजार २६४ मतान्तरले पराजित गरेका हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?