कञ्चनपुर–१ मा प्रचण्डकी बुहारी बिना मगर पराजित
मंसिर ९, काठमाडौँ । कञ्चनपुर क्षेत्र नं.१ मा नेकपा (एमाले) का उम्मेदवार तारालामा तामाङ विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उहाँले पाँच हजार पाँच सय ४६ मतान्तरले माओवादी केन्द्रकी वीना मगरलाई पराजित गरेका हुन्।
तामाङले २४ हजार आठ सय ९२ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी मगरले १९ हजार तीन सय ४६ मत प्राप्त गरेका छन्। विसं २०७४ को निर्वाचनमा मगरका सारथी बनेका तामाङले यसपटक मगरलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। तामाङ सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्रीसमेत हुन्। उनी गत भदौमा मात्रै नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले आठ हजार छ सय ५९ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीवहादुर शाहीले तीन हजार पाँच सय ३० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले एक हजार नौ सय छ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
९१ हजार एक सय १० मतदाता रहेको यो क्षेत्रमा ६३ हजार छ सय चार जनाले मतदान गरेका थिए। तीन हजार छ सय १४ मत बदर भएको निर्वाच अधिकृतको कार्यालयले जनाएको छ।