दाङ १ः एकीकृत समाजवादीका चौधरी विजयी


मंसिर ९, काठमाडौँ । दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ता चौधरीले २० हजार एक सय ३५ मत प्राप्त गरेको मतदान अधिकृत मानबहादुर विष्टले जानकारी दिए। उनीहरुबीच पाँच हजार दुई सयको मतान्तर रहेको छ। त्यस्तै स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार सात सय ९४ मत प्राप्त गरेका छन्।

क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार सात सय मत खसेको थियो। दाङ–१ को प्रदेशसभा (१)मा नेकपा (माओवादी केन्द्र)का इन्द्रजित थारू निर्वाचित भएका छन्। उनले एक हजार सात सय ७५ मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले १३ हजार पाँच सय पाँच मत प्राप्त गरे भने एमालेका गङ्गाराम भट्टराईले ११ हजार सात सय ३० मत प्राप्त गरे।

थारू लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री छन्। यसअघि एमालेसँग तालमेल गरेर चुनाव जितेका थारू यसपालि गठबन्धनबाट उम्मेदवार बनेका थिए। सो क्षेत्रमा ४० हजार एक सय छ मत खसेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?