यी हुन् राप्रपा उम्मेदवारसँग पराजित पूर्वमन्त्रीहरू
मंसिर ९, काठमाडौँ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइरहँदा बहालवाला मन्त्री, पूर्वमन्त्री र पार्टी पदाधिकारी पराजित भएका छन्।
एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित राजनीतिक दलका पदाधिकारी पराजित भएका छन्। प्रचलित संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतासहितका विषयमा फरक विचार राख्दै आएको राप्रपाका उम्मेदवारसँग केही पूर्वमन्त्री पराजित भएका छन्।
झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग कांग्रेस नेता तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौला पराजित भए ।लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याएर निर्वाचित हुँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत पाएर पराजित हुन पुगे।
मकवनापुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंहसँग राप्रपा नेपालका अध्यक्ष तथा पूर्वमन्त्री कमल थापा पराजित भए। सिंहले २७ हजार ८१६ मत ल्याएर निर्वाचित हुँदा पूर्वउपप्रधानमन्त्री थापा २५ हजार ४२० मतसहित पराजित हुन पुगे।
यसैगरी, ध्रुवबहादुर प्रधानले पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेललाई पराजित गरेका छन्। नवलपरासी–२ मा प्रधानले कांग्रेसका उम्मेदवार कंडेललाई १९ हजार ५९५ मतान्तरले हराएका हुन्। प्रधानले ३४ हजार ९५९ मतसहित निर्वाचित कँडेलले १९ हजार ५९४ मत मात्र ल्याए।
रुपन्देही ३ मा बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका दीपक बोहराले अग्रता लिइरहेका छन्। पछिल्लो अपडेटअनुसार बोहराले २७ हजार ६३१ मतसहित अग्रता लिइरहँदा खाणले २७ हजार १५८ मतसहित पछ्याइरहेका छन्।
बाँके २ मा राप्रपाका महामन्त्री धवल शमशेर राणासँग पूर्वमन्त्रीसमेत रहेका जसपाका मोहम्मद इश्तियाक राई पराजित भए। राणाले २९ हार ५७७ मत ल्याएर निर्वाचित हुँदा राईले २३ हजार ५२० मत ल्याएर पराजित हुन पुगे।