अष्ट्रेलियामा फेरी बढ्यो ब्याजदर
मंसिर २०, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा पुनः ब्याजदर बढेको छ। रिजर्व बैंक अफ अष्ट्रेलियाले लगातार आठाैँ महिना ब्याजदर बढाएको हो। आरबीएको बोर्डले मंगलबार अष्ट्रेलियाको बढ्दो मुद्रास्फीतिलाई रोक्नको लागि नगद दर फेरि बढाउने निर्णय गरेको घोषणा गरेको छ।
अष्ट्रेलियाको रिजर्भ बैंकका गभर्नर फिलिप लोवेले मंगलबार आरबीएले ०.२५ प्रतिशतले ब्याजदर बढाएर ३.१ प्रतिशतमा ल्याएको घोषणा गरे जुन २०१२ यताकै सबैभन्दा उच्च हो।
आरबिएको घोषणासँगै वेस्टप्याकले उधारकर्ताहरूलाई ब्याजदर वृद्धि गरेको छ। उक्त वृद्धि डिसेम्बर १६ देखि लागु हुने बताइएको छ। ठूला चार बैंकहरूले मंगलबार नगद दरमा वृद्धि हुने प्रक्षेपण गरेका थिए।
२५ आधार बिन्दु वृद्धिको मतलब ५ लाख डलर ऋण लिएका औसत उधारकर्ताले मासिक भुक्तानीमा ८४३ डलरभन्दा बढी तिर्नु पर्नेछ। यो भनेको पछिल्लो महिनाको भन्दा ७५ डलर बढी हो।