दश हजार डलरको ज्याकेट पैसा नतिरी लिएर भाग्नेको खोजी गर्दै भिक्टोरिया प्रहरी
मंसिर २६, मेलबर्न अष्ट्रेलिया । भिक्टोरियामा १० हजार डलरको ज्याकेट चोरी गरेर भाग्ने एक जनाको प्रहरीले खोजी सुरू गरेको छ। एक स्टोरबाट पैसा नतिरी महँगो ज्याकेट लिएर हिँडेका व्यक्तिको खोजी सुरू गरिएको हो।
ती व्यक्तिले १० हजार डलर पर्ने जर्जियो अर्मानीको ज्याकेट पैसा नतिरि लगेको अभियोग लागेको छ। चेन्जिङ रूममा गएपछि उनी त्यहीबाट भागेका थिए। गत जुन ८ तारिखको दिउँसो २ः ४५ मिनेटमा अभियुक्त साउथ हार्फ स्टोरमा पुगेका थिए।
प्रहरीले बुधबार अभियुक्तको पहिचानका लागि सिसिटिभी फुटेज र फोटो सार्वजनिक गरेको छ। पातलो शरीर, छोटो कालो कपाल भएको ती व्यक्तिलाई कोकेशियनको रूपमा वर्णन गरिएको छ।
घटनाको समयमा उनले कालो प्यान्ट, कालो लामो बाहुला भएकोको जम्पर र कालो रनिङ सुज लगाएका थिए।
अधिकारीहरूले यस्तै ज्याकेट यसको बजार मूल्यभन्दा कममा बिक्री भएको देखेका जो कोहीलाई सम्पर्क गर्न आग्रह गरिरहेका छन्। जानकारी भएका जो कोहीलाई 1800 333 000 मा सम्पर्क गर्न वा www.crimestoppersvic.com.au. मा गोप्य अनलाइन रिपोर्ट पेश गर्न आग्रह गरिएको छ।