क्विन्सल्यान्डमा गोली हानी दुई प्रहरीको हत्या, आक्रमणकारी खोज्न ‘पोलएयर’ परिचालन
मंसिर २७, मेलबर्न अष्ट्रेलिया । अस्ट्रेलियाको क्विन्सल्यान्डको एक विकट स्थानमा रहेको एउटा घरमा दुईजना प्रहरी अधिकारी र एकजना सर्वसाधारणको गोली हानी हत्या गरिएको छ।
घटनाकाबेला ती प्रहरी अधिकारीहरू ब्रिस्बेनदेखि २७० किलोमिटर पश्चिममा रहेको बिएमबिल्लामा हराइरहेका एकजना व्यक्तिबारे गरिएको उजुरीमाथि कारबाही गरिहेका थिए।
पत्रकार सम्मेलनमा प्रहरीले आक्रमणकारीहरू अझै फरार रहेको जनाएको छ । त्यहाँका स्थानीयलाई अर्को सूचना जारी नभएसम्म घरबाहिर ननिस्कन निर्देशन दिइएको छ ।
क्विन्सल्यान्ड प्रहरी आयुक्त क्याट्रिना क्यार्रोलले सो घरमा चारजना प्रहरी पुगेको तथा घाइते दुई जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिएकी छन्। आक्रमणकारीहरूको खोजिका लागि प्रहरी र विशेष फौजलाई हवाई सहयोग दिने ‘पोलएयर’ पनि परिचालित भएको छ।
क्यार्रोलले समुदायको सुरक्षाका लागि आफ्नो ज्यानको आहुति दिने प्रहरीहरूको प्रशंसा गर्दै गहिरो समवेदना प्रकट गरेकी छन्। क्विन्सल्यान्ड प्रहरी मन्त्री मार्क र्यान र अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्वानेसले पनि यस घटना प्रति दुस्ख व्यक्त गरेका छन्।