क्विन्सल्याण्ड गोलीकाण्डः मृत्यु हुने २ प्रहरीको खुल्यो पहिचान


मंसिर २७, मेलबर्न, अष्ट्रेलिया। क्विन्सल्याण्डको झडपमा परी मृत्यु हुने २ प्रहरी जवानको पहिचान खुलेको छ। अष्ट्रेलियामा अज्ञात समूहसँग भएको झडपमा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको थियो।

उक्त झडपमा मृत्यु हुने प्रहरी जवानहरूमा २६ वर्षीय म्याथ्यु अर्नोल्ड र २९ वर्षीय रचेल म्याक्क्रो रहेका छन्।

गत साँझ भएको अकल्पनीय घटनामा परी घाइते भएका उनीहरूका २ सहकर्मीहरूको अस्पतलामा उपचार भइरहेको छ। घाइते हुने प्रहरीहरूमा २८ वर्षका किली ब्रो र र्यान्डल कर्क भएको बताइएको छ।

आज बिहान चिन्चिल्ला पुलिस स्टेशनमा बोल्दै क्वीन्सल्याण्ड पुलिस कमिश्नर क्याटरिना क्यारोलले अर्नोल्ड र म्याक्रोका प्रियजनहरूप्रति संवेदना व्यक्त गरे।

मृतक दुवैले भर्खरै मात्र आफ्नो प्रहरी करियर सुरु गरेको कमिशनरले जानकारी दिएका छन्। म्याथ्यूले मार्च २०२० मा पुलिस अफिसरको रूपमा सपथ लिएका थिए। त्यस्तै, रचेलले गत वर्ष जुनमा सपथ लिएका थिए।

क्वीन्सल्याण्ड पुलिस युनियनका अध्यक्ष इयान लिभर्सले मारिएका अधिकारीहरूलाई ब्रिस्बेनको बोटानिक गार्डेनमा रहेको पुलिस मेमोरियल पर्खालमा स्मारक बनाइने बताएका छन्।

यस घटनामा कसको संलग्नता रहेको भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?