अष्ट्रेलियामा टाँट पल्टियो चर्चित फुड डेलिभरी कम्पनी
पुस १, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा अर्को फुड डेलिभरी कम्पनी टाट पल्टिएको छ। चर्चित मध्ये एक योर ग्रोसर कम्पनीले बन्द भएको घोषणा गरेपछि ग्राहकहरू अचम्मित भएका छन्।
ग्रोसरी लगायत खानेकुराहरू समेत डेलिभरी गर्ने मेलबर्नमा अवस्थित कम्पनीले बिहीबार खानेकुराहरू डेलिभरी नगर्ने घोषणा गरेको छ। उक्त कम्पनी बन्द भएपछि सोमबार गरिएका सबै अर्डरहरू रद्द हुने भएका छन्। यसले अष्ट्रेलियामा क्रिसमसका लागि अर्डर गर्ने ग्राहकहरू प्रभावित हुने बताइएको छ।
अष्ट्रेलियामा आर्थिक कठिनाइका कारण विभिन्न कम्पनीहरू बन्द भइरहेको अवस्थामा अहिले डेलिभरी कम्पनी पनि यही अवस्थामा पुगेका छन्।
यसभन्दा अघि जुन महिनामा ७५ मिलियन डलरको कम्पनी मिलक्रनले प्रति अर्डरमा १३ डलर घाटा व्यहोरिरहेको बताएको थियो। त्यस्तै, भिक्टोरियाको फुड डेलिभरी कम्पनी डेलिभर पनि नाफा कमाउन नसकेपछि बन्द भएको थियो।
त्यसैगरी, केही हप्ता अघि मात्रै ठूलो डेलिभरी कम्पनी डोरड्याले पनि कम्पनिबाट १२५० जना कर्मचारी बर्खास्त गरेको थियो। गत नोभेम्बरमा डेलिभरू कम्पनीले पनि सेवा बन्द भएको घोषणा गरेको थियो।