२७ लाख बराबरको सुन चोरी गर्ने टीका पोखराबाट पक्राउ


पुस १, पोखरा । ठूलो परिमाणमा सुनको गहना चोरी गरेको आरोपमा पोखरा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पोखराबाट २७ लाख रुपैयाँ बराबरको सुनको गहना चोरी आरोपमा प्रहरीले पर्वतको मोदी घर भएकी टीका श्रेष्ठलाई पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोलबाट पक्राउ गरेको हो।

ललाइफकाइ गरेर विभिन्न ९ जनाका सुनका गहना चोरी गरेको आरोपमा उनी पक्राउ परेकी परेकी हुन्। पोखराका विभिन्न स्थानका वृद्ध–वृद्धाले लगाएका सुनका गहना तथा घरमा राखिएका सुन उनले चोरी गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले पोखरा रानीपौवाका ७८ वर्षीय दुर्गाकुमारी पाध्याको सुनको सिक्री, तिलहरी, झुम्का, पञ्चरत्न बाला, औठी र टप चोरी गरेकी छिन्।

पाटनबेसीका ८३ वर्षीय रिखीमाया सापकोटाको सुनको सिक्री र औठी, माटेपानीका ७० वर्षीय तिलकुमारी थापाको सुनका बाला २ जोर, गैह्रापाटनका ७९ बर्षीय लक्ष्मी कोइरालाको सुनको सिक्री, उपकार मार्गका ९० वर्षीय शान्तिमाया गुरुङको सुनको सिक्री, फूलबारीका ८७ बर्षीय ठगकुमारी महतका सुनको सोवकी र औठी, गलेश्वर मार्गका ५४ बर्षीय दुर्गा गिरीको मंगलसुत्र, चोरी गरेको प्रहरीले जनाएको छ।

यस्तै पोखरा महानगर वडा नम्बर २७ की ६५ वर्षीय मधुमाया पौडेलको मंगलसुत्र, झुम्का, चुरी, औठी, चन्द्रमा र तिलहरी र मिनलटोलका ८२ बर्षीय डुमादेवी थापाको सुनको बाला चोरी गरेको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरेको प्रहरीको भनाइ छ।

चोरी तथा डाँका मुद्दामा श्रेष्ठमाथि अनुसन्धान गर्न ५ दिन अदालतबाट म्यादसमेत लिइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?