जेम्स बोण्डतिर सुपरमेनको नजर
पुस २, लसएन्जल्स । हलिउड अभिनेता हेनरी केविल सुपरमेनको भूमिकामा निकै रुचाइए। उनले ‘द विचर’मा रिविराको गेराल्टको भूमिका निभाएका थिए। जसकारण उनी दर्शकमाझ प्रिय बने । अब उनी जेम्स बोण्डको तयारीमा जुटेका छन्।
हेनरीले हालैमात्र आफू अब सुपरेमनको भूमिकामा नदेखिने घोषणा भएपछि फ्यान दुःखी बनेका थिए। उनको यो घोषणा सँगै के उनी अब जेम्स बोण्ड बन्न लागेका हुन् भन्ने चर्चा पनि हलिउड बजारमा छ।
हेनरीले एक अन्तवार्तामा आफूले सन् २००५ मा जेम्स बोण्ड भूमिकाको लागि अडिसन दिएको खुलासा गरेका थिए। तर अन्तर्वातामा आफू डेनियल क्रेगभन्दा पछाडि परेको बताएका थिए। यसपछि डेनियलले जेम्स बोण्डको भूमिका लगातार ४ फिल्ममा निभाए। अब भने उनी यो चरित्रबाट बाहिर निस्किएर केही फरक भूमिकामा काम गर्न चाहन्छन्।
हेनरीले भने ‘द अकाउन्ट अफ मोन्टेक्रिस्टो’बाट आफ्नो डेब्यू गरेका थिए। यो फिल्म सन् २००२ मा रिलिज भएको थियो। यद्यपि उनले लोकप्रियता भने सुपरमेनका रुपमा पाए। उनले ‘मेन अफ स्टील’, ‘मिसन इम्पोसिबलः फलआउट’, ‘स्टारडस्ट’ र ‘बेटमेन वर्सेस सुपरमेनः डन अफ जस्टिस’मा पनि अभिनय गरेका छन्।
हेनरीबाहेक आरोन टेलर जोनसन पनि जेम्स बोण्डको भूमिकाका लागि दौडमा छन्। उनले हेनरीसँग कडा प्रतिस्पर्धा गरिरहेका छन्।