भिक्टोरियाको घरमा आगलागी, ७४ वर्षीय वृद्ध र ११ वर्षीय बालकको मृत्यु
पुस ४, मेलबर्न अष्ट्रेलिया । भिक्टोरियाको एक घरमा २ जनाको शव फेला परेको छ। जिलोंग नजिकै लाराको एक घरमा भएको आगलागीमा २ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
सोमबार बिहान ४ः ४५ बजे फरेस्ट रोड नर्थमा आपतकालिन सेवाहरूलाई बोलाइएको थियो। उक्त घरमा अग्निरक्षकहरूले ७४ वर्षीय वृद्ध र ११ वर्षीय बालकको शव घरभित्र फेला पारेको थिए।
उक्त घरमा नै रहेका अर्का १० वर्षीय बालक भने भागेर ज्यान बचाउन सफल भएका छन्। उनी अहिले आमासँग रहेको बताइएको छ। डिटेक्टिभ सिनियर सार्जेन्ट मार्क गुथ्रीले आगलागी शंकास्पद नभई दुखद् दुर्घटना भएको बताएका छन्।
आगलागीको वास्तविक कारण खुल्न नसकेको तर विद्युत सर्ट भएको हुनसक्ने अनुमान गरिएको छ। गुथ्रीले आगलागी हुँदा तीनै जना सुतेको अनुमान गरेका छन्।
अहिले यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।