मेसीलाई बधाई दिँदै पेलेले भने: अहिले पक्कै पनि म्याराडोना मुस्कुराइरहेका छन्
पुस ४, काठमाडौँ । अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप फुटबल जिताउन नेतृत्व गरे कप्तान लियोनल मेसीले अहिले विश्वभरबाट बधाई पाइराखेका छन्। फुटबल समर्थक, पण्डित र लिजेन्डहरूले मेसीको सफलतामा खुसी व्यक्त गरिरहेका छन्।
यसैबिच सर्वकालिन महान फुटबल पेलेले पनि मेसीलाई बधाइ दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत बधाइ दिएका हुन्। उनले मेसी र अर्जेन्टिनासँगै फाइनल खेलमा ह्याट्रिक गर्ने फ्रान्सका एमबाप्पेलाई पनि बधाई दिएका छन्।
कतारको लुसेल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएपछि उनले इन्स्टाग्राममा आफ्नो सन्देश पोस्ट गरेका हुन्।
‘आज फुटबलले सधैं जस्तै रोमाञ्चक तरिकामा आफ्नो कथा सुनाउन जारी राखेको छ,’ पेलेले आफ्नो पोस्टमा लेखेका छन्। ‘मेसीले आफ्नो पहिलो विश्वकप जिते। यसका लागि उनी योग्य थिए। मेरो प्यारो साथी एमबाप्पेले फाइनलमा चार गोल गरे। हाम्रो खेलको भविष्यका लागि यो दृश्य हेर्न पाउनु उत्कृष्ट उपहार थियो।’
पेलेले मेसीलाई बधाइ दिँदा २ वर्षअघि निधन भएका अर्का महान् खेलाडी म्याराडोनाको नाम पनि सम्झिएका छन्। उनले लेखेका छन्, ‘बधाई छ अर्जेन्टिना। पक्कै पनि डिएगो अहिले मुस्कुराउँदै छन्।’
अर्जेन्टिनाका महान खेलाडी म्याराडोनाले सन् १९८६ मा आफ्नो देशको लागि दोश्रो विश्वकपको उपाधि दिलाएका थिए। समग्रमा अर्जेन्टिनाले अहिलेसम्म तीन पटक विश्वकपको उपाधि जितेको छ।
मेसीले २ गोल गरेको खेलमा उनले जित्न बाँकी एक मात्र ट्रफि पनि जितेका छन्। त्यस्तै, २०१८ को विश्वकपमा सनसनी मच्चाएका एमबाप्पे विश्वकप फुटबलको फाइनल खेलमा गोल गर्ने दोश्रो व्यक्ति बनेका छन्।