इरानमा थप ३ प्रदर्शनकारीलाई मृत्युदण्ड
पुस २६, एजेन्सी । इरानमा हिजावसम्बन्धी नियम उल्लंघनको आरोपमा पक्राउपछि हिरासतमै मृत्यु भएकी महसा अमिनीको विषयलाई लिएर भड्किएको प्रदर्शन जारी छ।
सरकारले सुरक्षा फौजका सदस्यको हत्यामा संलग्न रहेको आरोपमा प्रदर्शनमा सहभागी थप तीन जनलाई मृत्युदण्ड सुनाएको छ। तीन महिनाभन्दा बढी प्रदर्शनको सम्बन्धमा मृत्युदण्डको सजाय पाएका व्यक्तिहरूको कुल संख्या १७ पुगेको छ।
सालेह मिरहाशेमी, माजिद काजेमी र सईद याघौबीलाई ‘ईश्वर विरुद्ध युद्ध’ गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको न्यायपालिकाको मिजान अनलाइन समाचार वेबसाइटले रिपोर्ट गरेको छ।
हिजाबविरोधी प्रदर्शनका क्रममा ४ सय भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ। त्यस्तै, हजारौ प्रदर्शनकारी पक्राउ परेका छन्।