अवैध लागूऔषधसहित चार जना पक्राउ


माघ ६, काठमाडौँ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्रामसहित ईलाम सूर्योदय नगरपालिका-१० घर भएका १९ वर्षीय सुबेक प्रधानलाई प्रहरीले पक्राउ गरेको छ।

झापाबाट काठमाडौं आउँदै गरेको ना।६ ख ३२६८ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित शुक्रबार बिहान फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब २० केजी र नगद ४९ हजार रूपैयाँ सहित स्याङ्जा भिरकोट नगरपालिका-२ बस्ने ३५ वर्षीय प्रेम गुरुङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा.२ ग १४१० नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार गुरुङको झोलाबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

दाङ, राप्ती गाउँपालिका-१ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३७ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बिशाल थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

सर्लाही, बरहथवा नगरपालिका-७ स्थितबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २७ ट्याब्लेट सहित सोही नगरपालिका( ८ बस्ने २३ वर्षीय राम उजैन पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?