बालिका हत्या अभियोगमा अरुण साहलाई जन्मकैदको सजाय, घर स्थानीयको नियन्त्रणमा


माघ २४, महोत्तरी । जिल्ला अदालत महोत्तरीले सात वर्षीया बालिका गुलाब साह खातुन हत्यामा दोषी ठहर गर्दै अरुण साहलाई जन्मकैदको सजाय सुनाएको छ।

न्यायाधीश रामचन्द्र खड्काको एकल इजलासले साहलाई पीडित परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्तिसहित जन्मकैद सजाय सुनाएको अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले जानकारी दिए । हत्या भएको ३ वर्षपछि गत आइतबार अदालतले दोषीलाई सजाय सुनाएको हो।

७ मंसिर २०७६ मा बर्दिबासस्थित शुभम् बस्तीबाट बेपत्ता भएकी बालिका खातुन शव भोलिपल्ट साहको नै घर नजिक बोरामा प्याक गरेर फ्याँकिएको अवस्थामा फेलापरेको थियो। बयानका क्रममा साहलाई आरोप स्वीकारे थिए। पुर्पक्षकै क्रममा जेलमा रहेका साहलाई जन्मकैद सुनाइएको हो।

अरुण साहविरुद्ध २ जेठ २०७७ मा जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता भएको थियो। बालिका खातुनको शव क्षतविक्षत अवस्थामा भेटिएपछि स्थानीयहरुले नाराबाजी गरेका थिए। सो क्रममा सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो।

घर स्थानीयको नियन्त्रणमा
बालिका गुलाब साह खातुनको हत्यामा दोषी ठहर भएका अरुण साहको घर स्थानीयको नियन्त्रणमा छ। गौशाला स्थायी घर भएका साहको बर्दिबासस्थित घर स्थानीयले नियन्त्रणमा लिएका हुन्।

घरको भित्तामा ‘यो अपराधीको घर हो, यसलाइ किन्ने प्रयास नगर्नुहोला’ भनेर लेखिएको छ। सोही बेला स्थानीयले घरमा आगजनीसमेत गरेका थिए।
सो घरमा कोही बसेका छैनन् भने घरभित्र जलेर नष्ट बनाइएको खरानीबाहेक केही पनि छैन।

घर वरिपरि झारपात पलाएको छ भने शुभम बस्तीको बीचमा ठडिएको यो घर पूर्णरुपमा एक्लिएको छ। अपराध गर्ने जोकोही कानुनको मात्र हैन सामाजिक सजायको पनि भागीदार पनि बन्नुपर्छ भन्ने सो घरको अवस्थाले सन्देश दिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?