बेलायतको डाक्टर भन्दै ठग्ने एक जोडी काठमाडौँबाट पक्राउ


फागुन १५, काठमाडौँ । बेलायतमा रोजगारी मिलाई दिन्छु भन्दै अनलाइनमार्फत नगद २३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी घर भई काठमाडौँ कालीमाटी बस्ने २५ वर्षीय सुदिश कुमार साह र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–११ घर भई काठमाडौँ कालीमाटी बस्ने २७ वर्षीया सुनिता परियार रहेका छन्। 

उनीहरूले सामाजिक सञ्जाल फेसबुक, वाट्यएप, ईन्टारग्राम, भाइबर र टिकटक मार्फत पीडितलाई साथी बनाई आफू मलेसियाको नागरिक भएको र हाल यूकेमा डेन्टिस डाक्टर पेसा गर्छु भनी पीडितहरूसँग मोबाइल नम्बर लिई वाट्यएपमार्फत कुराकानी गरी प्रलोभनमा पारेको प्रहरीको भनाई छ।

प्रहरीका अनुसार तत्पश्चात् यूकेमा हेल्थकेयर असिस्टेनटमा नोकरी लगाई दिन्छु भन्दै व्यक्तिगत विवरण पठाउन लगाई कागजात लिएपश्चात विभिन्न व्यक्तिहरूलाई पार्सल, आकर्षक गिफ्ट, डलरलगायतको सामान पठाएको र त्यसको लागि कस्टम चार्ज, क्लिरियन्स, ईन्सुरेन्स, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भन्दै पीडितहरूबाट सुनिताको बैङ्क खातामा उक्त रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

ठगी गरेको उजुरी पछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई ठगी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ। 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?