टर्कीमा पुनः ५.६ म्याग्निच्युडको भूकम्पः एक जनाको मृत्यु, ६९ घाइते
फागुन १५, काठमाडौँ । पूर्वी टर्कीमा सोमबार आएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी एकजनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन्। तीन हप्ताअघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको टर्कीले शोकबाट नबौरिदै फेरि अर्को धक्का ब्यहोरेको छ।
भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिल्युर्ट जिल्लामा रहेको थियो जहाँ यसअघि नै फेब्रुअरी ६ मा शक्तिशाली भूकम्प गएको थियो। यसअघिको भूकम्पबाट क्षतिग्रस्त भएका २५ वटा भवन सोमबारको भूकम्पले ध्वस्त भएको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी)ले जनाएको छ।
फेब्रुअरी २० मा दक्षिणी टर्कीको हाते प्रान्तमा गएको अर्को दुईओटा भूकम्पमा ६ जनाको ज्यान गएको थियो।