अर्घाखाँची प्रिमियर लिग सदरमुकाम सन्धिखर्कमा सुरु
फागुन २४, अर्घाखाँची । चौथो अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिता मंगलबारबाट अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा सुरु भएको छ।
अर्घाखाँची क्रिकेट संघको आयोजनामा सन्धिखर्क टुडिखेलमा शुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका अध्यक्ष जीवनारायण कोइराला र सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
प्रतियोगिताको पहिलो दिन मंगलबार एक खेल भएको छ। रोयल खाचिकोट र इलाभेन ब्रदर्श डिभर्नाको विचमा भएको पहिलो खेलमा रोयल खाचिकोटले इलाभेन ब्रदर्श डिभर्नालाइ १६ रनले पराजित गरेको छ। खेलको म्यान अफ दि म्याच खाचिकोटका केशव गैरे बन्न सफल भए । उनले महवपूर्ण ३ विकेट लिएका थिए।
स्थानीय खेलाडीहरूको प्रोत्साहन सहित दक्ष खेलाडीहरु उत्पादनको लागि आयोजना गरिएको प्रतियोगितामा चार टिम सहभागी छन्। प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख प्राप्त गर्ने संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिएका छन्।