युवा कवि किशमा किशोरलाई प्रगति साहित्य सम्मान


फागुन २८, सिन्धुपाल्चोक । प्रगति साहित्य सम्मान–२०७९ बाट किशमा किशोर बुढाथोकी सम्मानित भएका छन्। सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ११ स्थित संस्थागत विद्यालय प्रगति अंग्रेजी माविले बुढाथोकीलाई यस वर्षको साहित्य सम्मान प्रदान गरेको हो।

उनीसँगै प्रगति पत्रकारिता सम्मानबाट दिनेश थापा र प्रगति कला सम्मानबाट पदम दुलाल सम्मानित भए। विद्यालयले हरेक वर्ष विभिन्न विधाबाट समाज विकासमा लागि योगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्ने गरेको छ।

साहित्य विधाबाट सम्मानित भएका बुढाथोकीले खाडी मुलुक कतारदेखि नेपालमासमेत साहित्यमार्फत नेपाली भाषा संस्कृतिको उत्थान, विकास र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले कदरस्वरूप सम्मान गरेको बिद्यालयले जनाएको छ। बुढाथोकीले कतारमा रहँदा नवोदित साहित्यिक वाचनालयमा संस्थापक रही प्रपासमा नेपाली साहित्यको विकासमा योगदान गरेका थिए।

सिन्धुपाल्चोकमा रहेर उनले स्पन्दन साहित्यिक मासिक र गजल सिन्धु मासिकको सम्पादन गरेका थिए। सिन्धु साहित्य अभिलेखालयको संयोजक, गजल सिन्धुको अध्यक्ष, शब्द सारथि, आधुनिक नेपाली गजल अभियानलगायत संस्थामा आवद्ध रही उनी साहित्यको विकासमा क्रियाशील छन्। उनको मरूभूमिको साहित्य यात्रा र जुनका आभाहरू कृति प्रकाशित छ।

त्यस्तै पत्रकारिता सम्मानबाट सम्मानित थापा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष हुन्। २०६० सालबाट पत्रकारिता सुरू गरेका थापा हाल सिन्धु प्रवाह साप्ताहिकका सम्पादक हुन्। राजधानी दैनिक र नेपाल प्रेस डटमा आवद्ध उनले जिल्लामा भएका विपदलगायतमा समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गराएकाले सम्मान गरिएको विद्यालयले जनाएको छ। लोक गायक पदम दुलाललाई गीत संगीतबाट मनोरञ्जन मात्रै नभई जिल्लाको कला तथा पर्यटन विकासमा सघाउ पुर्याएकाले सम्मान गरिएको हो।

हरेक वर्ष प्रदान गर्दै आएको प्रगति सम्मानबाट यस वर्ष सिन्धुपाल्चोकका तीनजना सम्मानित भएका छन्। सिन्धुपाल्चोक जिल्लामा जन्मेर राष्ट्रलाई योगदान गर्ने विभिन्न विधाका व्यक्तित्वलाई २०६२ सालदेखि निरन्तर सम्मान प्रदान गर्दै आएको सो विद्यालयले आफ्नो विद्यालयको ३१औं वार्षिकोत्सव समारोहको अवसरमा सम्मान प्रदान गरेको हो। मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उनीहरूलाई सम्मान पत्र प्रदान गरे।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?