लागुऔषधसहित ७ जना पक्राउ
चैत ३, काठमाडौँ । देशका विभिन्न स्थानबाट सातजना लागुऔषधसहित पक्राउ परेका छन्।
काठमाडौंको काठमाडौं महानगरपालिका–१३ स्थित कालिमाटी तरकारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २४ ग्राम, डिजिटल तराजु थान–१, नगद २ लाख ३९ हजार ५ सय रुपैयाँ, प्याकिङ गर्न प्रयोग गरिने प्लाष्टिकहरु, मोबाइल ३ थान र बागमती प्रदेश ०२–०२४ प२९३३ नम्बरको मोटरसाइकल १ थानसहित काभ्रे रोशी गाउँपालिका–१ घर भई हाल काठमाडौं टंकेश्वर बस्ने ३० वर्षीय बालकृष्ण ठकुरीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
ललितपुरको ललितपुर महानगरपालिका-४ नमोबुद्धमार्ग बागडोल बस्ने ४१ वर्षीय राजेन्द्र थापाको घरबाट नियन्त्रित अवैध लागूऔषध नुर्फिन १ सय ४ एम्पुल, डाईजेपाम १ सय ३० एम्पुल, फेनारगन ७४ एम्पुल, नगद ४ हजार २ सय ९५ रूपैयाँ र मोबाइल १ थानसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा राजेन्द्र थापा र सोही ठाउँ बस्ने शिब बहादुर थापा रहेका छन्। विशेष सूचनाको आधारमा खटिएको प्रहरीले राजेन्द्र थापाको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। उनीहरू उपर लागुऔषध मुद्दामा ललितपुर जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।
सुनसरीको ईटहरी उपमहानगरपालिका-४ कचना टोलबाट १ किलोग्राम अवैध लागूऔषध गाँजासहित सोही उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय भिम तामाङ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो।