अफगानिस्तानमा निर्दोष व्यक्तिको हत्या गरेको आरोपमा अष्ट्रेलिया वायुसेनाका पूर्वसैनिक पक्राउ


चैत ७, मेलबर्न, अष्ट्र्रेलिया । अफगानिस्तानमा युद्ध अपराधको अनुसन्धानपछि अष्ट्रेलियाका एक पूर्व वायुसेनाका सैनिकलाई हत्याको आरोप लगाइएको छ। उक्त आरोपमा उनी पक्राउ समेत परेका छन्।

४१ वर्षीय ओलिभर शुल्ज अष्ट्रेलियाको कानून अन्तर्गत युद्ध अपराधको आरोप लाग्ने पहिलो अष्ट्रेलियन सैनिक भएका छन्। यो आरोपमा दोषी प्रमाणित भए ओलिभरलाई आजीवन जेल सजायसम्म हुनेछ।

उनलाई सोमबार क्षेत्रीय न्यू साउथ वेल्समा गिरफ्तार गरिएको थियो र मंगलबार अदालतमा उपस्थित गराइनेछ।

अष्ट्र्रेलिया ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) ले अपराधको बारेमा खुलासा गर्ने २०२० एबीसी फोर कर्नर डकुमेन्ट्रीमा सोल्जर सी भनेर उल्लेख गरिएको व्यक्ति शुल्ज भएको बताएको छ।

सन् २०१२ मा दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा गहुँको खेतमा सिपाही सीले एक अफगानी व्यक्तिलाई गोली हानेको फुटेजमा देखाइएको थियो।

आर्मी रिजर्भका मेजर जनरल र न्यु साउथ वेल्सका सर्वोच्च अदालतका न्यायाधीश पल ब्रेरेटनको नेतृत्वमा चार वर्षको अनुसन्धानपछि युद्ध अपराधको अनुसन्धान गर्न गठित निकाय विशेष अन्वेषक (ओएसआई) को कार्यालयले यो अनुसन्धान गरेको हो।

२०२० मा सार्वजनिक भएको ब्रेरेटन रिपोर्टले अफगान युद्धको क्रममा अष्ट्रेलियाका सैनिकहरूले गैरकानूनी रूपमा ३९ जनाको हत्या गरेको प्रमाण फेला परेको उल्लेख गरेको थियो।

सन् २००९ देखि २०१३ सम्म कैदी, किसान वा सर्वसाधारणको हत्यामा प्रहरीले १९ वर्तमान वा भूतपूर्व विशेष बलका सिपाहीहरूमाथि अनुसन्धान गर्नुपर्ने रिपोर्टमा उल्लेख छ।

त्यो अनुसन्धानसँग जोडिएको यो पहिलो पक्राउ हो भन्ने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?