चीन भ्रमणमा जाँदै भिक्टोरियाका प्रिमियर एन्ड्र्यु


चैत्र १३, मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियाका प्रिमियर ड्यानिएल एन्ड्र्युले चीनको भ्रमण गर्ने भएका छन्। व्यापार मिशनको लागि एन्ड्र्यु चीनको भ्रमण गर्ने भएका हुन्।

राज्यको बेल्ट एण्ड रोड सम्झौता तोडिएपछि उनी पहिलो पटक चीन जान लागेका हुन्।

प्रिमियर एन्ड्र्युले सोमबार राति आँफू राज्य र राष्ट्रको सबैभन्दा ठूलो व्यापार साझेदार चीनको भ्रमण गर्ने पुष्टि गरे।

बढ्दो सुरक्षा तनावको बीचमा अकुस (AUKUS) पनडुब्बी सम्झौता भएपछि चीन भ्रमण गर्ने उनी पहिलो अष्ट्रेलियाली राजनीतिज्ञ समेत बन्ने भएका छन्।

मंगलबारदेखि शनिबार बिहान बेइजिङ, जियाङ्सु प्रान्त र चेङ्दुमा धेरै बैठकहरूका कारण उनको चीन बसाइ व्यस्त हुने एन्ड्र्युले जानकारी दिएका छन्।

यो भ्रमण द्रुत भएता पनि चीनमा रहेका भिक्टोरिया तथा अष्ट्रेलियाका सबै साझेदारहरूलाई प्रभाव पार्ने एउटा महत्त्वपूर्ण अवसर भएको उनले बताएका छन्।

कमनवेल्थले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धि सम्झौताहरू रद्द गरेपछि भिक्टोरिया र चीनबीच कुनै महत्त्वपूर्ण सार्वजनिक अन्तरक्रिया भएको छैन।

२०२१ मा अष्ट्रेलियाको संघीय सरकारले दिएको नयाँ शक्तिहरू प्रयोग गरेर भिक्टोरिया राज्यले अन्य देशहरूसँग गरेको चारवटा सम्झौताहरू रद्द गरेका थियो।

पछिल्लो समय चीन र अष्ट्रेलियाको सम्बन्ध त्यति सुमधुर नभएको जस्तो देखिएको अवस्थामा प्रिमियर एन्ड्र्युको भ्रमणलाई महत्वका साथ हेरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?