बसाइसराइ गर्नेलाई २० हजार डलर दिने क्वीन्सल्याण्डको एक सहर


The post office and the main street of Quilpie

चैत १४, मेलबर्न, अष्ट्रेलिया । क्वीन्सल्याण्डको क्विल्पी सहरले उक्त सहरमा बसाइसराइ गर्ने ‘होम वोनर ग्रान्ट स्किम’ अन्तर्गत २० हजार डलर दिने भएको छ।

पहिले उक्त सहरमा जानेहरूलाई १२ हजार ५०० डलर दिइएको थियो। तर, अब भने यो रकम बढेर २० हजार पुगेको छ। पहिले नै यस कार्यक्रम मार्फत जग्गा खरिद गरेका व्यक्तिले पनि थप रकम प्राप्त गर्न सक्नेछन्।

क्विल्पी शायरका सीईओ जस्टिन ह्यान्ककले यो योजना जग्गाको मूल्यमा भएको वृद्धिसँग मेल खाने गरी बढाइएको बताए।

यो योजना लिन चाहने अष्ट्रेलियालीहरूले आफ्नो जग्गामा निर्माण गरी कम्तिमा छ महिना आफ्नो नयाँ घरमा बसेको हुनु पर्नेछ।

‘हामी आउटब्याक क्वीन्सल्याण्डमा यो नीति लागू गर्ने पहिलो परिषद थियौं र यो धेरै सफल भयो। अमेरिका, भारत र आयरल्याण्ड लगायत अष्ट्रेलिया र विश्वभरका धेरै मानिसहरूले यसमा चासो देखाए।’ सीईओ ह्यान्ककले दाबी गरे।

‘जनसंख्या अझै बढ्दै गएको छ र धेरै मानिसहरू आउटब्याकमा जान चाहन्छन् किनभने तटीय र महानगरीय क्षेत्रमा बस्न यो वर्ष धेरै महँगो भएको छ।’ उनले भनेका छन्।

ह्यान्ककले शहरले पहिले नै टोकियो-आधारित विश्वविद्यालयको प्रोफेसरलाई दुई ब्लक जग्गा बेचेको बताएका छन्। उनले ती प्रोफेसर आफ्नो परिवारलाई क्विल्पीमा सार्न खोजिरहेको बताएका छन्।

यो योजनाको उद्देश्य सहरको जनसङ्ख्यालाई १००० पुर्‍याउने हो। अहिले उक्त क्षेत्रको जनसंख्या करीब ८०० रहेको छ।

उक्त सहरमा दुई सुपरमार्केट, एक मासु पसल, बेकरी, समाचार एजेन्सी, हेयरड्रेसर, अस्पताल, मेडिकल सेन्टर र फार्मेसी, साथै दुई स्कूल र प्रारम्भिक शिक्षा केन्द्र रहेका छन्।

उक्त क्षेत्रबाट ब्रिस्बेन र माउन्ट इसाको लागि हप्तामा दुई पटक उडान हुन्छ। पर्याप्त खाली ठाउँ समेत रहेका कारण उक्त क्षेत्र बस्नका लागि योग्य भएको बताइएको छ।

ब्रिसबेनबाट यो सहर पुग्न गाडीमा १० घण्टाभन्दा बढी लाग्ने बताइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?