भिक्टोरियामा एक व्यक्तिले भेट्टाए २.६ किलो सुन भएको चट्टान
चैत १६, मेलबर्न, अष्ट्रेलिया। सुनको खोजी गर्ने एक अनुभवहीन व्यक्तिले ठूलो मात्रामा सुन फेला पारेको छन्। उनले उक्त सुन बेचेर २ लाख ४० हजार डलर समेत कमाउन सफल भएका छन्।
नाम खुलाउन नचाहेको व्यक्तिले भिक्टोरियाको बल्लाराट, बेन्डिगो र सेन्ट अर्नाउडको बिचमा फैलिएको ‘गोल्डेन ट्राएंगल’ मा ४.६ किलोग्रामको चट्टान फेला पारेका हुन्। उनी एक सामान्य मेटल डिटेक्टर लिएर खोजीका लागि हिँडेका थिए।
त्यो चट्टान केही मूल्यवान छ कि छैन भनेर जिज्ञासु भएर उनले मूल्याङ्कनका लागि जिलङको लकी स्ट्राइक गोल्डमा लगेका थिए।
खोजी उपकरण रिटेलर र विशेषज्ञ ड्यारेन क्याम्पले उक्त चट्टानमा २.६ किलो सुन भएको पत्ता लगाएका थिए। क्याम्पले उक्त चट्टान दिएर १० हजार डलरमा बिक्री गर्न सकिन्छ भनेर सोधेको बताएका छन्। त्यसपछि क्याम्पले उक्ट चट्टान ल्याउने व्यक्तिलाई १ लाख डलर कम्तिमा भन्ने जवाफ फर्काएका थिए।
तर, रोचक कुरा भने सुनसहितको चट्टान ल्याउने व्यक्तिले आधा भाग भने घरमै राखेर आधा ल्याएका थिए।
अहिले विश्वभर बढ्दै गएको मुद्रास्फितिका कारण सानो सुनको टुक्रा नै १००० डलरमा बिक्री भइरहेको छ।
अहिले युवाहरूमाझ खोजी गर्ने काम लोकप्रीय बन्दै गइरहेको क्याम्पले बताएका छन्। केही वर्ष पहिले ५० वर्षभन्दा माथि उमेरका व्यक्तिहरूले गर्ने यो काम अहिले भने २०-३० वर्षका युवाहरूले व्यापक रूपमा गरिरहेका छन्।
सुन खोजी धेरै कारणहरूको लागि एक रमाइलो मनोरञ्जन मान्न सकिन्छ। तर हालको समयमा यसले प्रकृतिसँगको सम्बन्ध र केही पैसा कमाउने सम्भावनाको लागि मानिसहरूलाई आकर्षित गरेको छ।
भिक्टोरियाको बीचमा रहेको ‘गोल्डेन ट्रियाङ्गल’ क्षेत्रमा डेलेसफोर्ड, मेरीबरो र क्यासलमाइन जस्ता शहरहरू पर्दछन्। यस क्षेत्र बल्लाराट, बेन्डिगो र सेन्ट अर्नाउडको बीचमा अवस्थित छ।
सुन व्यापक पाइने उक्त क्षेत्रमा सन् १८५० को अवधिमा त्यहाँ सुन्दर भवनहरू निर्माण गरिएका थिए। अहिले भवनहरू संग्रहालय, ग्यालरी र क्याफेका रूपमा प्रयोग भइरहेका छन्।
यस क्षेत्रका सुनको डल्लाहरू तिनीहरूको मात्रा, आकार र शुद्धताका लागि प्रसिद्ध थिए। तिनीहरूमध्ये अधिकांश भने खोलाको किनारमा पाइने गरेको बताइन्छ।
नाम खुलाउन नचाहेका व्यक्तिले अहिले फेला पारेको ४.६ किलोको सुन सहितको चट्टान पछिल्लो समयको सबैभन्दा ठूलो हो। यसै क्षेत्रमा सन् १८६९ मा एक व्यक्तिले ७२ किलो सुनको डल्ला फेला पारेको समेत उल्लेख गरिएको छ।
अहिले बजारभाउ अनुसार उक्त डल्लाको मूल्य करीब ७० लाख डलर हुने थियो।