अष्ट्रेलियामा यो वर्ष ५० लाख कंगारू मारिने
चैत १८, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा यो वर्ष पनि लाखाैँ कंगारू मारिने भएको छ। देशको चिनारीकै रूपमा भएता पनि यो पटक अष्ट्रेलियाले ५० लाख कंगारू मार्ने कोटा निर्धारण गरेको छ।
अधिकारीहरूका अनुसार यो वर्ष स्वीकृत कोटा अनुसार देशका विभिन्न भागमा करिब ५० लाख कङ्गारु मारिनेछन्।
देशको सरकार र वन्यजन्तु विज्ञहरूका अनुसार कंगारुका केही प्रजातिहरू धेरै भएका हुनाले खडेरीको समयमा खेतबारी, अन्य स्थानीय प्रजाति र जनावरहरूलाई भोकमरीबाट जोगाउन नियमित रूपमा कंगारू मार्नु आवश्यक रहेको छ।
यसअघि सन् २०२० मा अष्ट्रेलियाले करिब १० हजार जंगली ऊँट मारेको थियो। त्यसबेला देशका कतिपय ठाउँमा ठूलो खडेरी परेका कारण पानी पिउनका लागि उँटहरू गाउँ पस्न थालेका थिए। सोही कारण अष्ट्रेलियाले १० हजार उँट मार्ने निर्णय गरेको थियो।
देशको राष्ट्रिय प्रतीक कंगारुको हत्याको घटनाप्रति सामाजिक अभियन्ताहरूले आक्रोश व्यक्त गर्दै यो कार्य क्रुर र व्यावसायिक स्वार्थबाट प्रेरित भएको बताएका छन् ।
अष्ट्रेलियाको कङ्गारु उद्योग संघका अनुसार सरकारद्वारा सञ्चालित कङ्गारु मार्ने कार्यक्रम अन्तर्गत इजाजतपत्र प्राप्त शिकारीहरूले प्रति किलो कङ्गारुको शुल्क लिन्छन्। यसबाहेक, कंगारुको मासु, छाला र छालाका उत्पादनहरू विश्वका ७० देशहरूमा निर्यात गरिन्छ। कंगारू मार्नेसँग सम्बन्धित करीब १३३ मिलियन डलरको उद्योग चलेको तथ्याङ्क समेत छ।
देशको विशाल क्षेत्रका कारण कङ्गारुहरूको गणना गर्न गाह्रो छ, तर हरेक वर्ष सरकारी अधिकारीहरूले हेलिकप्टर र फिक्स-पिङ एयरक्राफ्ट प्रयोग गरेर सर्वेक्षण गर्ने गरेका छन्। यो सर्वेक्षणपछि देशको कुन कुन क्षेत्रमा कुन प्रजातिको कङ्गारु कति मात्रामा मारिने हो भन्ने तय गरिन्छ।
पछिल्लो सरकारी तथ्याङ्क अनुसार न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड, भिक्टोरिया, साउथ अष्ट्रेलिया र वेस्टर्न अष्ट्रेलियामा ५० लाख कंगारु मार्ने कोटा निर्धारण गरिएको छ।
पछिल्लो सरकारी तथ्याङ्कले अष्ट्रेलियामा कंगारूको संख्या ४ करोड २० लाखभन्दा बढी रहेको देखाउँछ।