क्विन्सल्याण्ड विमान दुर्घटनाः गर्भवती पत्निसहित पतिको मृत्यु, परिवार विक्षिप्त


चैत २१, मेलबर्न, अष्ट्रेलिया । क्विन्सल्याण्डमा बेपत्ता भएको विमान दुर्घटना भएको पुष्टि भएको छ। उक्त दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ। त्यस्तै, महिलाको गर्भमा रहेको शिशुको समेत मृत्यु भएको पुष्टि भएको छ।

रिले कुहर्ट र उनकी गर्भवती पत्नी मारी कुहर्टको आइतबार दिउँसो विमान दुर्घटना हुँदा मृत्यु भएको हो। उनीहरूले अर्को विमान खरिद गर्ने तयारी गरिरहेको समेत पाइएको छ।

परिवारलाई भेट्नको लागि नियमित उडानमा नेटल डाउन्स स्टेशनबाट उडेका उनीहरू गन्तव्यमा नपुगी बेपत्ता भएका थिए। परिवारका सदस्यहरूले उनीहरू बेखबर भएपछि प्रहरीलाई खबर गरेका थिए। तत्कालै प्रहरीहरूको ठूलो संख्याले खोजी सुरू गरेको थियो।

क्वीन्सल्याण्डका प्रहरी निरीक्षक एन्ड्र्यू गोडबोल्डले प्रारम्भिक अनुसन्धानले खराब माैसमका कारण उक्त विमान दुर्घटना भएको देखिएको बताएका छन्।

अष्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोका अन्वेषकहरूले विमान दुर्घटनाको कारण पत्ता लगाउन प्रमाणहरू सङ्कलन गर्न दुर्घटनास्थलमा पुगेका छन्।

कुनै पनि सुरक्षा सवालहरू र दुर्घटना अनुसन्धानमा सहयोगी हुने विवरणहरूको प्रारम्भिक रिपोर्ट छ देखि आठ हप्तामा प्रकाशित हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?