अष्ट्रेलियामा यो महिना ब्याजदर नबढ्ने
चैत २२, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको रिजर्भ बैंकले ब्याज दर नबढाउने निर्णय गरेको छ। यो खबर धितो राख्ने व्यक्तिहरूको लागि राम्रो समाचार भएको बताइएको छ।
रिजर्व बैंक अफ अष्ट्रेलियाले गत महिनाहरूमा लगातार १० पटक ब्याजदर बढाएको थियो। न्यून ०.१ प्रतिशत रहेको ब्याजदर बढ्दै ३.६ प्रतिशतसम्म पुगेको थियो।
तर, बैंकले मंगलबारको बैठकले मूल्यवृद्धि रोक्ने निर्णय गरेको हो।
अष्ट्रेलियामा गत महिना अपेक्षितभन्दा कम मुद्रास्फिती देखिएका कारण व्याजदर नबढाउने निर्णय गर्न सकिएको बताइएको छ। अहिले अष्ट्रेलियामा मुद्रास्फीति ६.८ प्रतिशतमा रहेको छ।
अष्ट्रेलियाको रिजर्भ बैंकले गत वर्ष मेदेखि कुल ३.५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको गभर्नर फिलिप लोवले बताए।
‘बोर्डले मौद्रिक नीति ढिलोसँग काम गरिरहेको छ र ब्याज दरमा भएको यो उल्लेखनीय वृद्धिको पूर्ण प्रभाव अझै महसुस गर्न बाँकी छ भनी स्वीकार गर्दछ।’ लोवले भनेका छन्।
यस महिना ब्याज दर स्थिर राख्ने निर्णयले बोर्डलाई अर्थव्यवस्थाको अवस्था मूल्याङ्कन गर्न थप समय प्रदान गर्ने उनले दाबी गरेका छन्।