बाइनान्सको अष्ट्रेलियामा इजाजत रद्द


चैत २७, मेलबर्न, अष्ट्रेलिया । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज प्लेटफर्म बाइनान्सको अष्ट्रेलियाको इजाजतपत्र खारेज भएको छ। अष्ट्रेलियाको वित्तीय नियामकले विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्जको स्थानीय वित्तीय सेवा इजाजतपत्र रद्द गरेको हो।

अष्ट्रेलियन सेक्युरिटीज एन्ड इन्भेष्टमेन्ट कमिसन(एएसआईसी) का अनुसार उनीहरूले यस वर्षको सुरुमा बाइनान्सले सयौं खुद्रा ग्राहकहरूलाई गलत रूपमा थोक लगानीकर्ताको रूपमा वर्गीकृत गरेको फेला पारेका थिए। सोही कारण इजाजतपत्र रद्द गरिएको जनाइएको छ।

एएसआईसीका अध्यक्ष जो लङ्गोका अनुसार बाइनान्सले गरेको यो ठूलो गल्ती हो। अष्ट्रेलियाको कानून अन्तर्गत विवाद समाधान गर्ने अधिकार सहित खुद्रा ग्राहकहरूसँग थोक बिक्रेताहरू भन्दा बढी अधिकारहरू छन्। सोही कारण एकै ठाउँमा राख्न नमिल्ने लङ्गोको तर्क छ।

अष्ट्रेलियाको वित्तीय सेवा(एएफएस)ले बाइनान्सलाई खुद्रा ग्राहकहरूको सट्टा विशिष्ट लगानीकर्ताहरूलाई डेरिभेटिभ उत्पादनहरू प्रदान गर्न इजाजतपत्र प्रदान गरेको थियो।

बाइनान्सका ग्राहकहरूले अष्ट्रेलियामा अप्रिल १४ देखि आफ्नो डेरिभेटिभ स्थितिहरू बढाउन वा नयाँ स्थितिहरू खोल्न नपाउने भएका छन्। त्यस्तै, बाइनान्सले पनि अप्रिल २१ सम्म डेरिभेटिभ स्थितिहरू बन्द गर्नु पर्ने भएको छ।

एएसआईसीले अष्ट्रेलियामा बसेर क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरूको पैसा जतिबेला पनि गुम्न सक्ने भन्दै बारम्बार चेतावनी दिइरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?