अष्ट्रेलियाको ग्रामीण क्षेत्रमा क्वाड बाइक दुर्घटना हुँदा १४ वर्षीय बालिकाको मृत्यु
वैशाख ३, मेलबर्न, अष्ट्रेलिया । क्वाड बाइक दुर्घटना हुँदा अष्ट्रेलियाको ग्रामीण क्षेत्रमा एक किशोरीको मृत्यु भएको छ।
शनिबार बिहान आपतकालीन सेवाहरूलाई न्यु साउथ वेल्सस्थित विल्कानियाको बाहिरी भागमा- उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाको खबर दिँदै बोलाइएको थियो।
उनीहरूले क्वाड बाइक दुर्घटनामा १४ वर्षीया बालिका गम्भीर घाइते भएको सुचना पाएका थिए।
सोही क्षेत्रमा ४ दिन अघि मात्रै क्वाड बाइक दुर्घटना हुँदा एक पुरूषको मृत्यु भएको थियो। मङ्गलबार अप्रिल ११ मा म्याक्लेनन रोड, लेडीज पासमा क्वाड बाइक दुर्घटना हुँदा ३४ वर्षीय व्यक्तिले ज्यान गुमाएका थिए।
त्यस्तै, एलिस स्प्रिङ्समा शुक्रबार अप्रिल ७ मा मेरीभेल रोड नजिकैको ट्र्याकमा रहेको एक मोटरसाइकलसँग क्वाड बाइक ठोक्किएपछि २७ वर्षीय पुरुषको मृत्यु भएको थियो।
पछिल्ला वर्षहरूमा क्वाड बाइक दुर्घटनामा परी मानिसहरूको मृत्यु हुने संख्या बढ्दै गएपछि थप कडा नियमहरू लागु गर्ने विषयमा छलफल भइरहेको छ। क्वाड बाइक-सम्बन्धित चोटपटक र मृत्युलाई कम गर्नका लागि २०१९ मा नयाँ नियमहरू ल्याइएको थियो।
उक्त नियमसँगै सन् २०२२ मा अष्ट्रेलियामा बिक्री भएका नयाँ क्वाड बाइकमध्ये ९० प्रतिशतभन्दा बढीले राष्ट्रिय सुरक्षा मापदण्ड पूरा गरेको पाइएको थियो।