अष्ट्रेलियाका आईटी विज्ञमाथि लाग्यो विदेशी गुप्तचर एजेन्टलाई संवेदनशील सूचना उपलब्ध गराएको अभियोग
वैशाख ५, मेलबर्न, अष्ट्रेलिया । विदेशमा बसेर भर्खरै स्वदेश फर्किएका एक अष्ट्रेलियाली व्यक्तिलाई विदेशी गुप्तचर एजेन्टहरूलाई संवेदनशील सूचना उपलब्ध गराएको अभियोग लगाइएको छ।
५५ वर्षीय आईटी विशेषज्ञ अलेक्ज्याण्डर सेर्गोलाई सिड्नी फर्केको केही समयपछि अष्ट्रेलियाको संघीय प्रहरीले पक्राउ गरेको थियो। अधिकारीहरूका अनुसार दुई वर्षअघि उनलाई दुई विदेशी जासुसले सम्पर्क गरेका थिए।
उनीहरूले अलेक्ज्याण्डर सेर्गोलाई पैसा दिने भन्दै राष्ट्रिस सुरक्षा सम्बन्धि सुचना माग गरेको आरोप लगाइएको छ।
एक विज्ञप्तिमा अष्ट्रेलियाको संघीय पुलिस (एएफपी) ले एक थिंक ट्याङ्कको दाबी गर्ने व्यक्तिले सेर्गोलाई विदेशमा हुँदा सामाजिक सञ्जाल मार्फत सम्पर्क गरेको र दुई प्रतिनिधिहरूलाई भेट्ने व्यवस्था गरेको बताएको छ।
अदालतका कागजातहरूले चिनियाँ सहर शाङ्घाईमा केन र एभलिन नाम गरेका व्यक्तिहरूसँग भेट गरेको बताएको छ। यद्यपि प्रहरीले कुन देशलाई अवैध जानकारी सङ्कलन गर्न खोजेको आरोप लगाइएको छ भनेर प्रष्ट पारेको छैन।
र्गोलाई अष्ट्रेलियाको रक्षा, आर्थिक र राष्ट्रिय सुरक्षा प्रबन्धहरू र अन्य देशहरूसँग सम्बन्धित मामिलाहरू बारे जानकारी उपलब्ध गराउनका लागि पैसाको प्रस्ताव गरिएको थियो।
‘जासुसी र विदेशी हस्तक्षेपले अष्ट्रेलियाको सार्वभौमसत्ता, सुरक्षा र अखण्डतामा गम्भीर खतरा खडा गरेको छ।’ एएफपीको विज्ञप्तिमा भनिएको छ।
सेर्गो पाँच वर्षअघि लागू गरिएको जासुसी विरोधी कानुन अन्तर्गत अभियोग लगाइएका दोस्रो अष्ट्रेलियाली व्यक्ति हुन्। अष्ट्रेलियाली अधिकारीहरूले केन र एभलिनसँग भेटेका अरू कसैलाई जानकारी भए उपलब्ध गराउन अपील गरिरहेका छन्।
सेर्गो भिडियो लिङ्क मार्फत न्यू साउथ वेल्सको पारामाटा बाल अदालतमा उपस्थित भएका थिए। मुद्दा सोमबार १७ अप्रिलसम्मका लागि स्थगित गरिएको छ।
यो अभियोगमा दोषी साबित भए सेर्गोले विदेशी हस्तक्षेपको लापरबाही कसूर अन्तर्गत १५ वर्षसम्म कैद सजाय पाउनेछन्।