अष्ट्रेलियामा भूकम्पको धक्का
वैशाख ५, मेलबर्न, अष्ट्रेलिया। पश्चिमी अष्ट्रेलियाको ब्रूमको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ।
जियोसाइन्स अष्ट्रेलियाका अनुसार सोमबार स्थानीय समय अनुसार साँझ ५ बजेपछि ४.९ म्याग्निच्युडको भूकम्प गएको हो।
राज्यको उत्तरी भागमा अवस्थित एक लोकप्रिय पर्यटक गन्तव्यबाट लगभग २०० किलोमिटर परको दूरीमा भूकम्प गएको बताइएको छ। भूकम्पको उद्गम बिन्दु १० किलोमिटर गहिराइ भएको जानकारी दिइएको छ।
पश्चिमी अष्ट्रेलियामा समय साँझ ६ बजेसम्म ११५ जनाभन्दा बढीले भूकम्पको धक्का महसुस गरेको जानकारी दिएका छन्।
स्थानीयहरूले सोमबार राति भूकम्पको समयमा आफ्ना घर र क्याबिनेटहरू हल्लिएको रिपोर्ट गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
उक्त भूकम्पबाट केही क्षतिको रिपोर्ट नगरिएको पश्चिमी अष्ट्रेलियाको आपतकालीन सेवा विभागले जनाएको छ।
अष्ट्रेलियाको मौसम विज्ञान ब्यूरोले भूकम्पबाट सुनामीको खतरा नरहेको बताएको छ।