बालीबाट ६ जना अष्ट्रेलियन पर्यटक निष्काशित
वैशाख १०, मेलबर्न, अष्ट्रेलिया । इन्डोनेसियाको पर्यटकीय क्षेत्र बालीबाट यो वर्ष ९३ जना विदेशी पर्यटकहरू निष्काशित भएका छन्। देशको नियम उल्लंघन गरेको भन्दै प्रशासनले उनीहरूलाई निष्काशित गरेको हो।
२०२३ मा निष्काशित हुनेहरूको संख्या हेर्दा २०२२ मा निष्काशित भएकाहरूको संख्या नाघ्ने अनुमान गरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले कानून तोड्नेहरूमाथि कडाइ गरिरहेका छन्।
कानुन र मानव अधिकार मन्त्रालयको बाली कार्यालय एङ्गियाट नापिटुपुलुले बाली टाइम्सलाई दिएको जानकारी अनुसार बालीमा ९३ विदेशीहरूलाई यस वर्ष जनवरी १ देखि अप्रिल १७ को बीचमा इन्डोनेसियाबाट देश निकाला गरिएको थियो।
जुन गत वर्ष रेकर्ड गरिएका १९४ निर्वासनमध्ये आधाजति हो।
इन्डोनेसियाको कानुन पालना नगर्ने देशका नागरिकहरूको सूचीको तेस्रो स्थानमा अष्ट्रेलियन परेका छन्। रुसीहरू सबैभन्दा धेरै कानुन पालना नगर्नेमा परेका छन्। २०२३ को सुरूवाती ४ महिनामा नै २४ जना रसियनलाई निकाला गरिएको छ। त्यसपछि, अमेरिका र नाइजेरियाका नागरिक रहेका छन्।
तीमध्ये अधिकांशलाई भिसा वा अनुमति उल्लङ्घन र अन्य कानुनी उल्लङ्घनका कारण देश निकाला गरिएको पाइएको छ। बालीका गभर्नर वायन कोस्टरले हालैका हप्ताहरूमा घोषणा गरेको नयाँ अवधारणापछि निकाला गरिएकाको संख्या सार्वजनिक गरिएको हो।
पर्यटकहरूलाई कडाइ गरिरहेको बालीले पर्यटकहरूको व्यवहार निगरानी गर्न विशेष गाइडहरू परिचालन गर्ने तयारीसम्म गरेको बताइएको छ।