अजरवैजान पुर्याई ठगी गर्ने कैलालीका साउँद काठमाडौँबाट पक्राउ


वैशाख १४, काठमाडौँ । अजरवैजान पुर्‍याई ठगी गरेको अभियोगमा टीकापुर नगरपालिका–१ घर भएका कृतक बहादुर साउँदलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले ४० वर्षीय साउँदलाई बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो।

साउँदले कैलालीको वर्दगोरीया गाउँपालिका-६ का दीनेश बमलाई वैदेशिक रोजगारीका लागि पोर्चुगत पुर्‍याइदिने भन्दै अजरबैजान पुगाएर दुई महिनादेखि अलपत्र पारेको प्रहरीले जनाएको छ। पोर्चुगत पुर्‍याएर मासिक दुई लाख नेपाली रकम हुनेगरी काम लगाइदिने भन्दै उनले बमलाई ललाइफकाइ गरेका थिए।

उनले बमसँग विभिन्न प्रलोभन पार्दै पटक–पटक गरेर १३ लाख ९२ हजार लगेर अलपत्र पारेको प्रहरीले जनाएको छ। अलपत्र पारी ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?