मास्टरशेफ अष्ट्रेलियाका प्रस्तोता जोक जोनफ्रिल्लोको निधन
वैशाख १८, मेलबर्न, अष्ट्रेलिया । अवार्ड विजेता शेफ तथा मास्टरशेफ अष्ट्रेलियाका प्रस्तोता जोक जोनफ्रिल्लोको ४६ वर्षको उमेरमा अचानक निधन भएको छ।
उनी स्कटल्याण्डमा जन्मिएका व्यक्ति हुन् । उनले सन् २०१३ मा एडिलेडमा आफ्नै रेष्टुरेन्ट खोल्नुभन्दा अघिसम्म विश्वभरका प्रख्यात रेष्टुरेन्टमा काम गरेका थिए।
नेटवर्क १० ले उनको मृत्युको पुष्टि गरेको छ। मास्टरशेफ अष्ट्रेलियाको नयाँ सिजन सुरू हुने दिन नै उनको मृत्यु भएपछि मानिसहरू शोकमग्न भएका छन्।
नेटवर्क १० ले जोनफ्रिल्लोले देशभरका युवाहरूलाई यस क्षेत्रमा लाग्न उत्प्रेरित गरेको भन्दै श्रद्धांजलि अर्पण गरेको छ।
प्रस्तोताको मृत्यु भएसँगै मास्टरशेफ अष्ट्रेलिया यो हप्ता प्रसारण हुने तय भएपनि अब भने रद्द भएको जानकारी दिइएको छ।
सन् १९७६ मा ग्लासगोमा जन्मेका जोनफ्रिल्लोले १२ वर्षको उमेरमा भान्साकोठामा काम गर्न थालेका थिए। उनी १५ वर्षको उमेरमा लक्जरी स्कटिश रिसोर्ट द टर्नबेरी होटलमा काम गर्ने सबैभन्दा कान्छो व्यक्तिहरू मध्ये एक पनि बन्न सफल भएका थिए।
दुई वर्षपछि उनले मिशेलिन अभिनीत ब्रिटिश शेफ मार्को पियरे ह्वाइटको लागि आफ्नो प्रसिद्ध हाइड पार्क होटलमा काम गर्न थाले। तर, घरबार विहीन भएका कारण उनी सानै हुँदा ड्रग्सको कुलतमा समेत फसेको उनी स्वयंले नै द लास्ट शटमा उल्लेख गरेका थिए।
१९९० को दशकमा अष्ट्रेलिया आएपछि उनको जीवनमा नयाँ अध्याय सुरू भएको उनले बताएका छन्। उनले अष्ट्रेलियामा धेरै रेष्टुरेन्टहरू खोलेका थिए। सन् २०१३ मा खोलिएको ओराना रेष्टुरेन्टले त अवार्ड नै जितेको छ।
सन् २०१९ मा उनी मास्टरशेफ अष्ट्रेलियाको प्रस्तोता बनेका थिए।