अष्ट्रेलियामा फेरी बढ्यो ब्याजदर, ऋणीहरूमा थपियो किस्ताको बोझ
वैशाख २०, मेलबर्न, अष्ट्रेलिया। अष्ट्रेलियामा ब्याजदर बढेको छ। गत महिना रिजर्भ बैंक अफ अष्ट्रेलिया(आरबिए)ले स्थिर राखेको ब्याजदर मे महिनामा भने बढ्ने भएको हो।
यो महिना पनि आरबिएले ब्याजदर ०.२५ प्रतिशत बढाउँदै ३.८५ प्रतिशत बनाउने भएको छ।
आरबिएको पछिल्लो निर्णयसँगै अष्ट्रेलियाको ब्याजदर एक दशक पछिकै सबैभन्दा धेरै भएको छ। यसभन्दा अघि २०१२ मा मात्रै यो भन्दा बढी ब्याजदर भएको थियो।
आरबिएको निर्णयसँगै ऋण लिएर घर खरिद गर्नेहरूमाथि ब्याजको बोझ झन थपिने भएको छ। अप्रिलमा केही राहत मिलेता पनि ब्यादर उँभो लाग्ने सिलसिला मे महिनामै सुरू भएको छ।
अष्ट्रेलियामा यो सहित १२ महिनाको अन्तरालमा ११ पटक ब्याजदर वृद्धि भएको हो। अब गत वर्ष ५ लाख ८६ हजार डलरको ब्याज तिरेका ऋणीहरूले अहिलेकै हिसाबमा अब एक वर्षमा १४ हजार डलर बढी तिर्नुपर्ने भएको छ।
यो वर्ष ब्याजदर बढेता पनि अष्ट्रेलियामा घरको मूल्य भने सकारात्मक देखिएको छ। गत वर्ष लगातार ९ महिना घटेको घरको मूल्य यो वर्ष भने बढेको देखिएको छ। तर, अष्ट्रेलियामा ऋण लिने क्षमतामा भने ३० प्रतिशतको गिरावट देखिएको छ।