अष्ट्रेलियामा भेपिङमा प्रतिबन्ध लगाइने
वैशाख २१, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा विद्युतीय धुम्रपान- भेपिङमा प्रतिबन्ध लाग्ने भएको छ। सरकारले मनोरञ्जनात्मक भेपिङमा प्रतिबन्ध लगाउने भएको हो।
अष्ट्रेलियामा न्यूनतम गुणस्तर मापदण्डहरू पनि पेश गरिनेछ फार्मेसीहरूमा भेपको बिक्री समेत प्रतिबन्धित हुने भएको छ।
अष्ट्रेलियामा निकोटिन भेप खरिद गर्न पहिले देखि नै प्रेस्क्रिप्शन अनिवार्य गरिएको छ। यद्यपी, उद्योगहरूको नियमन प्रभावकारी नहुँदा कालोबजारी फस्टाइरहेको छ।
स्वास्थ्य मन्त्री मार्क बटलरले उत्पादनहरूले निकोटिन दुर्व्यसनीहरूको नयाँ पुस्ता सिर्जना गरिरहेको बताएका छन्।
भ्याप वा ई-सिगरेटहरू एक प्रकारका यन्त्र हुन् जसले तरल पदार्थलाई (प्रायः निकोटिनसहित) मानिसहरूले सास फेर्ने वाष्पमा परिणत गर्छन्। धुम्रपानको लत भएका मानिसहरूले लत छुटाउन भेप प्रयोग गर्ने गरेको पाइन्छ।
तर, अष्ट्रेलियामा भने भेपहरू बच्चाहरूलाई लक्षित गरी मनोरञ्जन उत्पादनको रूपमा परिणत भएको छ। मन्त्री बटलरले ललपप र चकलेट पाउने ठाउँमा सहजै बिक्री भइरहेका कारण समस्या भएको बताएका छन्।
हानिकारक सुर्ती प्रयोग नहुने भएका कारण भेपलाई सामान्य चुरोटभन्दा सुरक्षित मानिन्छ। तर, स्वास्थ्य विज्ञहरूले भेपहरू पनि जोखिममुक्त भने नभएको बताउँछन्। विभिन्न रसायनहरूको मिश्रण भएका कारण भेप प्रयोगको दीर्घकालीन प्रभावहरू अझै स्पष्ट नभइसकेको उनीहरू बताउँछन्।
अष्ट्रेलियाले पनि भेपहरूको प्रयोगले सार्वजनिक स्वास्थ्य खतरा भएको तर्क गरेको छ। पछिल्लो एक अध्ययनले १४ देखि १७ वर्ष उमेरका प्रति ६ जनामध्ये एक जनाले भेप प्रयोग गर्ने गरेको देखिएको छ। त्यस्तै, १८ देखि २४ वर्ष उमेर समुहमा भने प्रति चार जनामध्ये एक जनाले भेप प्रयोग गर्ने गरेको पाइएको छ।
अब अष्ट्रेलियामा घोषणा गर्ने नयाँ नियमहरूमा सबै डिस्पोजेबल भेप तथा गैर-प्रिस्क्रिप्शन उत्पादनहरूको आयातमा प्रतिबन्ध गर्ने बताइएको छ।
भ्यापिङ उत्पादनहरूका लागि प्रिस्क्रिप्शनहरू अनिवार्य गरिने मन्त्री बटलरले भनेका छन्।