नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका छोरा सन्दीपलाई काठमाडौं ल्याइयो


वैशाख २१, काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न सन्दीप रायमाझीलाई काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी परिसरले उनी विरुद्ध म्याद थपका लागि आवश्यक तयारी गरिरहेको छ ।

प्रहरी परिसरका अनुसार उनी विरुद्ध आज(बिहीवार) नै जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप हुनेछ । म्याद थपका लागि उनलाई बिहीवार बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइएको हो । उनलाई प्रहरीले बुधवार बुटवलबाट पक्राउ गरेको थियो । उनी विरुद्ध प्रहरीले बुधवार नै पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम सिजालले रायमाझीलाई काठमाडौं ल्याइएको र म्याद थपका लागि आवश्यक प्रकृया सुरु भएको बताए ।

उनले भने,‘सन्दीप रायमाफीलाई काठमाडौं ल्याइएको छ । उनी अहिले हाम्रो हिसातमा छन् । म्याद थपका लागि आवश्यक कागजात मिलाउने काम भइरहेको छ । उनलाई आजै म्याद थपका लागि अदालत लगिनेछ ।’

सन्दीप एमाले सचिव टोपबहादुर रायमाझीका छोरा हुन् । पूर्वउप्रधानमन्त्री समेत रहेका उनी विरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी अर्घाखाँची क्षेत्र नम्बर १ का सांसद् समे हुन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएको अभियोगमा प्रहरीले बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ । प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई मंगलवार नै पक्राउ गरेको छ ।

त्यसअघि प्रहरीले घटनामा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पक्राउ गरेका थियो ।

प्रहरीले पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा र इन्द्रजित राईका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । उनीहरु अहिले फरार छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?