अष्ट्रेलियामा पारासिटामोल खरिद गर्नका लागि फर्मासिस्टको स्वीकृति अनिवार्य
वैशाख २२, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा धेरै पारासिटामोल खरिद गर्नका लागि फार्मासिस्टको स्वीकृति अनिवार्य गरिने भएको छ। अष्ट्रेलियालीहरूमा पेनकिलर ओभरडोज कम गर्नका लागि २०२५ देखि स्विकृती बिना धेरै पारासिटामोल किन्न नपाइने भएको हो।
जानाजानी पारासिटामोलको ओभरडोजबाट प्रत्येक वर्ष ५० जना अष्ट्रेलियन नागरिकहरूको ज्यान जाने गरेको पाइएपछि औषधि नियामकले बुधबार यो निर्णय गरेको हो।
२०२५ को फेब्रुअरीबाट प्यारासिटामोल प्याकहरू २० ट्याबलेटबाट १६ मा घटाइने पनि भएको छ। त्यस्तै, फार्मेसी प्याक भने १०० वटाबाट ५० मा घटाइने बताइएको छ।
१०० भन्दा बढी ट्याब्लेटहरू किन्नको लागि अनिवार्य स्विकृती लिनुपर्नेछ।
प्यारासिटामोल ट्याब्लेट र क्याप्सुलहरू ब्लिस्टर प्याकेजिङमा पनि हुनुपर्छ। व्यक्तिगत रूपमा बेरिएको पाउडर वा प्यारासिटामोल भएको दानाको थैली प्याकेजिङ नियमहरू अनुसार घटाइनेछ।
तरल पदार्थ, परिमार्जित-रिलीज, र प्रिस्क्रिप्शन-मात्र प्यारासिटामोलको पहुँच यो निर्णयबाट प्रभावित नहुने प्रष्ट पारिएको छ।
अष्ट्रेलियामा पेनकिलरको ओभरडोजको लागि युवाहरू सबैभन्दा ठूलो जोखिममा छन्। यसलाई सम्बोधन गर्न डाक्टरको प्रेस्क्रिप्शनमा मात्र यी औषधिहरू किन्न अनुमति दिन सुझाव दिइएको छ।
फेब्रुअरीमा नियामकले उमेर प्रतिबन्धले आवेगपूर्ण ओभरडोज रोक्न धेरै काम नगर्ने तर नाबालिगहरूको पहुँचलाई अनुचित रूपमा सीमित गर्ने निष्कर्ष निकालेको थियो।
बुधबार थेरापेटिक गुड्स एड्मिनिस्ट्रेसनले निश्चित औषधिमा केही प्रतिबन्ध लगाउने निर्णय गर्यो। यद्यपि, नियमित औषधि सेवन गर्नुपर्नेहरूका लागि उक्त निर्णयले प्रभावित नपार्ने बताइएको छ।
नियामकले सुपरमार्केटहरूलाई एक पटकमा एक प्याकमा बिक्री प्रतिबन्धित गर्न अनुरोध गरेको छ। त्यस्तै, उपभोक्ताहरूलाई परिवर्तनहरू लागू हुनु अघि औषधि भण्डार नगर्न पनि आग्रह गरेको छ।