एक दशकपछि अष्ट्रेलियामा पछि पर्यो टोयोटाको हाइलक्स , फर्डको रेन्जर सबैभन्दा बढी बिक्री हुने गाडी
वैशाख २२, मेलबर्न, अष्ट्रेलिया । अमेरिकी कम्पनी फर्डको कार अष्ट्रेलियाको सबैभन्दा लोकप्रीय बनेको छ। जापानी कम्पनी टोयोटाको हाइलक्सलाई पछि पार्दै फर्डको रेन्जर अष्ट्रेलियामा चर्चित भएको हो।
अप्रिल महिनामा बिक्री भएका कारहरूको संख्याको आधारमा उक्त आँकडा निकालिएको हो। त्यस्तै, पछिल्लो समय अष्ट्रेलियामा विद्युतीय र चिनियाँ कम्पनीका कारहरूको बिक्री पनि बढेको पाइएको छ।
पछिल्लो सात वर्षसम्म अष्ट्र्रेलियामा सबैभन्दा धेरै बिक्री हुने कार टोयोटाको हाइलक्स थियो। तर, अष्ट्रेलियामै डिजाइन गरिएको फोर्डको रेन्जरले हाइलक्सलाई पछि पारेको छ।
२०२३ को सुरूवाती ४ महिनामा रेन्जरको बिक्री ३० प्रतिशतले बढ्दा हाइलक्सको बिक्री भने १६ प्रतिशतले घटेको छ।
सेमीकन्डक्टरको अभाव र ढुवानी ढिलाइले टोयोटा बिक्रीमा कमी भएको छ। यद्यपी, अष्ट्रेलियामा लगभग दुई दशकदेखि नयाँ-कार बजारमा टोयोटाको प्रभुत्व रहेको छ। अष्ट्रेलियामा बिक्री हुने प्रत्येक पाँच कारमा एउटा टोयोटा हुने गरेको अध्ययनले देखाएको छ।
अहिलेको अवस्थामा भने टोयोटा नाजुक देखिएको छ। हाइलक्सको बिक्री भने १६ प्रतिशतले घट्दा र्याभ४ को बिक्री ४० प्रतिशतले घटेको छ
अष्ट्रेलियामा बढ्दै विद्युतीय कार
विद्युतीय सवारीका लागि सरकारी प्रोत्साहन र कर छुटले पछिल्ला केही महिनाहरूमा विद्युतीय कारको माग आकाशिएको छ।
अप्रिलमा नयाँ कारको बजारमा विद्युतीय सवारी साधनले ८ प्रतिशत ओगटेको छ। जुन अघिल्लो वर्ष यहि समयमा मात्र १ प्रतिशत थियो।
टेस्लाको मोडेल वाई देशमा चौथो-सर्वाधिक बिक्रि हुने एसयूभी कार भएको छ। टेस्लाको मोडल-३ अष्ट्रेलियामा सबैभन्दा बढी बिक्री हुने सेडान भएको छ।
टेस्लाको मोडल-३ ले अष्ट्रेलियामा स्थापित ब्राण्डहरू होन्डा, सुवारू र फ्वाक्सवागनलाई समेत पछि पारेको छ।
फेडरल चेम्बर अफ अटोमोटिभ इन्डस्ट्रिजका प्रमुख कार्यकारी टोनी वेबरले गत महिना बिक्री हुने शीर्ष दस सवारीमध्ये पाँचमध्ये कुनै न कुनै प्रकारको विद्युतीय कार भएको बताएका छन्।
पछिल्लो समय अष्ट्रेलियामा चिनियाँ कारहरूको बिक्री तथा उपस्थिति समेत बढेको छ। चीन र अष्ट्रेलियाको राजनीतिक विवादका बाबजुद पनि अष्ट्रेलियामा चिनियाँ ब्राण्डका कारहरूले राम्रो बजार लिइरहेका छन्।