अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपाललाई एक स्वर्ण सहित पाँच पदक
वैशाख २४, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले पाँच पदक जितेका छन्। अहिलेसम्म भएका खेलहरूबाट नेपालका खेलाडीले एक स्वर्ण र चार कास्यसहित पाँच पदक जितेका हुन्।
नेपाली खेलाडी दिवश श्रेष्ठले स्वर्ण पदक जितेका छन्। उनले ८४ केजीमाथिको ताैल समुहमा स्वर्ण जित्न सफल भएका हुन्।
उनले फाइनलमा न्यु क्यालेडोनियाका फ्लोरेन्टलाई हराउँदै स्वर्ण जितेका हुन्। नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा उनले नेपालका लागि रजत पदक जितेका थिए।
नेपाली खेलाडी नवीन रसाईली र राजीव पुडासैनीले ६७ केजीमुनिको तौल समूहमा कास्य पदक जित्दा मनिस थापाले ६० केजीमुनिको तौल समूहमा र मलिका थापा क्षेत्रीले महिलातर्फ ५५ केजीमुनिको तौल समूहमा कास्य जितेका छन्।
सुशील पौडेल स्वास्थ्य समस्याका कारण प्रतियोगितामा सहभागी नहुँदा शेखर श्रेष्ठ भने क्वार्टरफाइनलमा अष्ट्रेलियन खेलाडीसँग पराजित भएका छन्।